उपसभामुख शिवमाया तुम्बाहाङ्फेलाई मन्त्री बनाउने विषयमा नेकपाका दुई अध्यक्ष प्रधानमन्त्री केपी ओली र पुष्पकमल दाहाल प्रचण्डबीच सहमति भएको छ । आइतवार विहान प्रचण्डसँग अग्नि सापकोटालाई सभामुख बनाउने सहमति गरेपछि ओलीले उसपभामुख शिवमाया तुम्बाहाङ्फेलाई बालुवाटार बोलाएर राजीनामा गर्न आग्रह गरेका थिए । तर, उनले आफूले राजीनामा गर्नुपर्नका कारण लिखित रुपमा माग गरेको बालुवाटार स्रोतको दाबी छ ।
‘उहाँले आफ्ना कुरा प्रधानमन्त्रीसँग राख्नुभयो,’ बालुवाटार स्रोतले भन्यो,‘तर उहाँको राजीनामा सोमवार आउँछ ।’ ओलीले मन्त्री बनाउने शर्तमा राजीनामा दिन आग्रह गरेपछि शिवमायाले आज राजीनामा दिने तयारी गरेकी छिन् ।
संविधान अनुसार एकै दलका दुई जना सभामुख र उपसभामुख बन्न नमिल्ने भएका कारण तुम्बाहाङ्फेले राजीनामा नदिइ सभामुख निर्वाचनको प्रकृया शुरु हुन नसक्ने भएका कारण नेकपाका लागि उनको राजीनामा अनिवार्य छ ।