पर्यटकको पूर्ण सुरक्षा सरकारले गर्छ : मन्त्री भट्टराई

संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले नेपाल आएका पर्यटकको पूर्ण सुरक्षा सरकारले गर्ने बताएका छन् । राष्ट्रिय फोटो पत्रकार समूहको ‘नेपाल दर्शन–२०२०’ फोटो पुस्तक तथा पुरस्कार विवतरण कार्यक्रममा उनले नेपालमा अहिलेसम्म पर्यटक सुरक्षित रुपमा रहेका बताए । उनले पर्यटकलाई कुनै आपतविपत् परे सरकारले जुनसुकै बेला पनि उद्धार गर्ने उल्लेख गरे ।

‘दश वर्ष जनयुद्धका बेलामा पनि कुनै पर्यटकलाई केही भएन, त्यसले पनि नेपाल पर्यटकका लागि सुरक्षित भन्ने देखाउँछ’, उनले भने, ‘नेपाल भ्रमण वर्षमा पनि कोही पर्यटक सङ्कित हुनुपर्दैन ।’ उनले पर्यटकलाई आपतविपत्मा चाँडो सुरक्षा गर्न व्यवस्था मिलाइएको जानकारी गराए । उनले अन्नपूर्ण पदमार्गमा करीब दुई सय पर्यटकलाई सुरक्षित ठाउँमा स्थान्तरण गरिएको बताए ।



उनले नेपाल भ्रमण वर्षलाई केहीले असफल बनाउने प्रयास गरेको उल्लेख गर्दै भौतिक पूर्वाधारको काम गुणात्मक रुपले अगाडि बढेको बताए । उनले भ्रमण वर्षले सबै लक्ष्य पूरा गर्न नसक्ने भन्दै भ्रमण वर्षलाई आधार वर्षका रूपमा मानेर एक दशक नेपाल भ्रमण वर्ष मनाउने सरकारको तयारी रहेको धारणा राखे । उनले पुस्तकमा समावेश फोटाले नेपाल चिनाएको उल्लेख गर्दै पुस्तकले पर्यटकलाई नेपाल चिन्न सहयोग मिल्ने बताए ।

“पुस्तकमा नेपालको हिमाल, पहाड, तराईदेखि सबै जातजाति भाषा संस्कृति झल्काउने फोटो रहेका छन्”, उनले भने, ‘पुस्तकमा रहेका फोटा हेरेर पर्यटकले घुम्ने ठाउँको छनोट गर्नेछन् ।’ मन्त्री भट्टराईले पुस्तकलाई नेपालमा मात्र नभएर विदेशस्थित नेपाली कूटनीतिक नियोगमा पनि पुर्याउनुपर्नेमा जोड दिँदै भ्रमण वर्ष सफल बनाउने पुस्तकको भूमिकासमेत रहने बताए।

सम्बन्धित समाचार