अनेरास्ववियु पिएन क्याम्पसको कार्यवाहक अध्यक्षको जिम्मेवारी न्यौपानेलाई

प्रमुख राजनीतिक दल नेकपाको विद्यार्थी संगठन अनेरास्ववियुको एकताले केही दिन पहिले पूर्णता पाएको थियो । देशका चर्चित क्याम्पसमा उक्त संगठनबाट राजनीति गर्दै आएका धेरै विद्यार्थी नेताहरू केन्द्रीय कमिटीमा मनोनित भएका छन् । योसँगै धेरैलाई दोहोरो जिम्मेवारी हुन गएको छ ।

तर पोखराको पृथ्वीनारायण क्याम्पसका अनेरास्ववियु अध्यक्ष राजन शर्मा पराजुलीले आफूले दोहोरो जिम्मेवारी लिँदा संगठनमा क्रियाशील अरू धेरै साथीहरूको राजनीतिक भविष्यले गति लिन अवरोध हुने निष्कर्षका साथ कार्यवाहक अध्यक्षको जिम्मेवारी निवर्तमान सचिव सन्तोष न्यौपानेलाई सुम्पिएर उदाहरणीय काम गरेका छन् ।



उनले बुधवारबाटै लागु हुनेगरी उक्त जिम्मेवारी न्यौपानेलाई दिएको जानकारी गराए । सन्तोष न्यौपाने पिएन क्याम्पसमा लोकप्रीय विद्यार्थी नेताका रूपमा चिनिछन् । उनलाई आसन्न स्ववियु निर्वाचनमा सभापतिको सम्भावित उम्मेदवारका रूपमा पनि लिइन्छ । न्यौपाने विगत सात वर्षदेखि अनवरत रूपमा विद्यार्थीको हक हितका लागि लड्दै आएका छन् ।

क्याम्पसमा विद्यार्थीकै काममा खटिइरहेकै बेला एक्कासि कार्यवाहक अध्यक्षको जिम्मेवारी आफूलाई दिइएको खबरले थप जिम्मेवारीबोध भएको उनले बताए । उनले सबैसँग मिलेर आसन्न स्ववियु निर्वाचनलाई हर तरहले सफल बनाउनको लागि आफू लागिपर्ने प्रतिबद्धता व्यक्त गरे ।

अध्यक्षले आफुलाई योग्य ठानेर जिम्मेवारी प्रदान गरेकोमा धन्यवाद व्यक्त गर्दै आफ्नो कार्यकालमा संगठनको साख गिराउने कुनै पनि क्रियाकलाप नगर्ने र सदैव संगठनकै हक हितका लागि लागिपर्ने बताए ।

सम्बन्धित समाचार