राष्ट्रियसभा सदस्यको निर्वाचनः मतदान शुरु, परिणाम आजै

राष्ट्रियसभा सदस्यको निर्वाचन अन्तर्गत सातै प्रदेशमा मतदान शुरु, भएको छ । कुल १८ पदका लागि अहिले बिहान १० देखि शुरु भएको मतदान अपराह्न ४ बजेसम्म जारी रहनेछ । निर्वाचनका लागि मतदानस्थल तोकिएको प्रदेश नं १ को विराटनगर महानगरपालिकाको वीरेन्द्र सभागृह, प्रदेश नं २ को जनकपुरधाम उपमहानगरपालिकाको महेन्द्रनारायण स्मृति भवन, वाग्मती प्रदेशको ललितपुर महानगरपालिका–४ वडासमिति भवन, गण्डकी प्रदेशको जिल्ला निर्वाचन कार्यालय कास्की परिसरमा विहान १० बजेदेखि मतदान प्रक्रिया शुरु भएको हो ।

यसैगरी प्रदेश नं ५ को घोराही उपमहानगरपालिकाको कर्मचारी मिलन केन्द्र, कर्णाली प्रदेशको जिल्ला निर्वाचन कार्यालय सुर्खेत परिसर र सुदूरपश्चिम प्रदेशको सिलगढी नगरपालिकाको पद्म पब्लिक मुक्तिनारायण उच्च माविको मतदानस्थलमा मतदान शुरु भएको छ ।



निर्वाचनमा ५५० प्रदेशसभा सदस्य तथा स्थानीय तहका अध्यक्ष÷उपाध्यक्ष, प्रमुख÷उपप्रमुख एक हजार ५०६ समेत गरी दुई हजार ५६ मतदाता छन् । निर्वाचनमा छ राजनीतिक दलका ४५ उम्मेदवार प्रतिस्पर्धामा छन् । प्रदेशसभा सदस्यको मतभार ४८ तथा स्थानीय तहका गाउँपालिका अध्यक्ष, उपाध्यक्ष एवं नगरपालिकाका प्रमुख र उपप्रमुखको मतभार १८ कायम भएको छ ।

प्रदेशसभा सदस्यले मतदान गर्ने प्रयोजनका लागि सेतो कागजमा हरियो रङको मसीको निर्वाचन चिह्न तथा नगरपालिकाका प्रमुख र उपप्रमुख एवं गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षले मतदान गर्न सेतो कागजमा रातो रङको मसीको निर्वाचन चिह्न तयार गरिएको आयोगले जनाएको छ । सम्पूर्ण मतदातालाई परिचयपत्र लिई मतदानमा सरिक हुन अनुरोध गरिएको छ ।

उनन्साठी सदस्यीय राष्ट्रियसभाका आगामी फागुन २० गते पदावधि सकिने १९ मध्ये १८ नयाँ सदस्य चयनका लागि उक्त निर्वाचन हुन लागेको हो । एक सदस्य भने सरकारको सिफारिशमा राष्ट्रपतिले मनोनयन गर्ने संवैधानिक प्रावधान छ । प्रमुख निर्वाचन आयुक्त थपलियाले अपरान्ह ४ः०० बजेसम्म मतदान हुने र मतदान सकिए लगत्तै मतगणना शुरु गररे आज नै सबै परिणाम सार्वजनिक गरिसक्ने व्यवस्थाका लागि निर्वाचन अधिकृतहरूलाई निर्देशन दिइएको बताए।

सम्बन्धित समाचार