थुन्न नभन्दै सिद्धबाबा फरार

सुनसरी जिल्ला अदालतले धरौटीमा छाडेपछि सिद्धबाबा भनिने कृष्णबहादुर गिरी अस्पतालबाट आश्रम फर्किएका थिए । उच्च अदालतले बिहीवार त्यसलाई बदर गरी थुन्न आदेश दिन नपाउँदै उनी रहस्यमय ढङ्गले फुत्किएका छन् । उनी बिहान केही समर्थकका साथ सुनसरीको चतारास्थित आफ्नो आश्रमबाट उच्च अदालत जाने भनेर हिँडे । मुद्दाको सुनवाइ जारी रहेकै बेला अदालत नगइ सीधै जोगवनीतर्फ हानिए ।

अनौठो कुरा त – यौन दुराचारमा मुद्दा विचाराधीन रहेका उनका लागि सरकारले अङ्गरक्षक खटाएको छ । नेपाल भारत सीमामा पुगेपछि उनले अङ्गरक्षक प्रहरी हवलदार मुकेश साहलाई फिर्ता पठाएका छन् । आफ्नै खेलाँचीले उम्किन दिएको प्रहरीले भने अदालतको आदेशपछि गिरीलाई व्यापक रुपमा खोजिरहेको छ ।



सिद्धबाबाले दिउँसो १ बजे सीमापार गरेको जानकारी आएको जिल्ला प्रहरी मोरङका प्रवक्ता डीएसपी लोकदर्शन थापाले बताए । स्रोतका अनुसार उच्चबाट आफ्नो पक्षमा आदेश नआउने बुझेर गिरीले पहिल्यै नेपाल छाडेका हुन् ।

सम्बन्धित समाचार