एकसाथ वर्ल्ड रेकर्ड कायम गर्दै १३ नेपाली युवायुवती

आगामी फागुन २२ गते एकसाथ १३ जना नेपाली युवायुवती ‘गिनिज बुक अफ वर्ल्ड रेकर्डस्’मा नाम लेखाउने घोषणा गरेका छन् । गिनिज इभेन्ट्स नेपालले शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै नेपालको मौलिक संस्कृतिलाई विश्वसामु चिनाउने उद्देश्यले १३ जना नेपाली युवायुवती २७ घन्टा नृत्य गरेर ‘गिनिज बुक अफ वर्ल्ड रेकर्डस्’ मा नाम लेखाउने घोषणा गरेका हुन् ।

२७ घण्टा सामूहिक नृत्य गरेर ‘गिनिज बुक अफ वर्ल्ड रेकर्डस्’ मा नाम लेखाउन चाहनेहरूमा डिलबहादुर मगर, केशबहादुर पुर्जा, शात्ना तिलिजा, सरला तिलिजा, शिक्षा गर्बुजा, अंशु गर्बुजा, चन्द्रमाया गुरूङ, जस्टिना श्रीस, सुस्मिता गुरूङ, शान्ति शाही, यमुना रोका, सञ्जु पुन र राजीन पुन रहेका छन् ।



उक्त कीर्तिमान राख्नको लागि गिनिज बुकले अनुमतिसमेत दिइसकेकोले फागुन २२ गते १३ जना नेपाली युवायुवतीले सामूहिक रूपमा २७ घण्टा लगातार नेपाली मौलिक लोक नृत्य प्रस्तुत गरेर विश्व रेकर्ड राख्न आफूहरू लागिपरेको ईभेन्ट्स नेपालका अध्यक्ष सन्तोष लामाले जानकारी गराए ।

यसअघि सन् २०११ अक्टोबर ३१ मा अमेरिकाको एमटिभिओ म्युजिक अवार्डको नाममा १३ जना युवायुवतीले लगातार २४ घण्टा १ मिनेट सामूहिक नृत्य गरेर विश्वकै सबैभन्दा लामो सामूहिक नृत्यको विश्व रेकर्ड राखेका थिए ।

सम्बन्धित समाचार