नवकान्तिपुर संवाददाता
काठमाडौं, १० माघ ।
भन्सार विभागले भन्सार विन्दुमा पूर्वाधार निर्माण गरी जाँचपासमा प्रविधिको प्रयोगलाई बढाउने भएको छ । ६८औं अन्तर्राष्ट्रिय भन्सार दिवसको अवसरमा शुक्रबार भन्सार विभागले पत्रकार सम्मेलन गर्दै भन्सारहरूमा पूर्वाधार विकास गरी जाँचपासमा प्रविधि प्रयोग बढाई सिमानामा रहेका सबै निकायको प्रभावकारी समन्वय गरी अवैध व्यापार नियन्त्रण गर्ने जनाएको छ ।
भन्सार चेकजाँच प्रविधिमा आधारित बनाएर हरेक काम पारदर्शी बनाउनतर्फ विभाग लागिपरेको भन्दै विभागका महानिर्देशक सुमन दाहालले अब केही समयमा सबै भन्सारलाई क्यासलेस बनाइने बताए । त्यसैगरी विभागका प्रवक्ता शिशिर घिमिरेले विभाग व्यापार सहजीकरण, यथार्थ राजश्व संकलन र सामाजिक सुरक्षामा केन्द्रित भई भन्सार सुधार र आधुनिकीरणमा लागिरहेको जानकारी गराए ।
विभागले भन्सार जाँचपास रियलटाइममा हुने र ८५ प्रतिशत मालवस्तु भन्सारबाट सोही दिन जाँचपास हुने र भन्सार घोषण गर्न भन्सार बिन्दुमै जान नपर्ने व्यवस्था गरिएको जनाइएको छ । भन्सार विभागमा कर्मचारीको समेत अभाव रहेको र भेहिकल स्क्यानर मेसिन समेत नभएकाले मेसिन खरिद गर्ने तयारीमा रहेको विभागले जनाएको छ ।
विभागले कुल राजश्वको करिब ५० प्रतिशत राजश्व संकलन गर्दै आएको छ । नेपालमा आन्तरिक उत्पादनभन्दा आयात हिस्सा बढी भएकोले भन्सार बिन्दुमा संकलन हुने राजस्वको अंश बढीदेखिएको विभागले जनाएको छ ।