प्रतिनिधि सभामा सभामुख चयनका लागि आज निर्वाचन हुँदैछ । सभामुख चयनको प्रक्रिया अगाडि बढाउन सङ्घीय संसद् भवनमा अपरान्ह ३ बजे प्रतिनिधि सभा बैठक बोलाइएको छ । यता सभामुखमा एकल उमेद्वारी परेका नेकपा नेता अग्निप्रसाद सापकोटाविरूद्ध शुक्रबार सर्वोच्च अदालतमा रिट दायर भएकोले सर्वोच्च अदालतले सभामुख बन्न लागेका सापकोटासहित नेपाल सरकारलाई पत्र काटेको छ । सापकोटाविरूद्ध रिट दायर गरिएको मुद्दामा नेपाल सरकारसहित मन्त्री परिषद्लाई विपक्षी बनाइएको छ । अदालतले पेशी तारिखमा १२ गते १० बजे हाजिर हुन भनेको छ ।
वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले दायर गरेको रिटको पेशी तोक्दै सर्वोच्च अदालतले सापकोटासहित विपक्षी बनाइएका व्यक्ति तथा निकायलाई तारेखका लागि हाजिर हुन भनिएको हो । आज सवोच्चको सभामुख चयनकाविरूद्ध कुनै आदेश नआएमा सापकोटा सभामुख बन्ने निश्चित छ ।
सापकोटाको मात्र एकल मनोनयन परेकाले प्रतिनिधि सभा नियमावलीको व्यवस्था अनुसार उनी निर्विरोध हुनेछन् । बैठकमा सापकोटाका तर्फबाट प्रस्तावक सुवासचन्द्र नेम्वाङले उम्मेदवारको प्रस्ताव पेश गर्नेछन् । वक्तव्यसहित पेश हुने प्रस्तावमा समर्थकले धारणा राख्नेछन् । सापकोटाको समर्थकमा पूर्वसभामुख ओनसरी घर्ती, नेकपाका संसदीय दलका प्रमुख सचेतक देवप्रसाद गुरुङ हुनेछन ।
यस्तै राजपा नेपालका सांसद लक्ष्मणलाल कर्णले पनि सापकोटाको उम्मेद्वारीमा समर्थन गर्नेछन् । प्रतिनिधि सभा नियमावलीको नियम ७ को व्यवस्था अनुसार एक मनोनयन परेकाले प्रस्तावक र समर्थकले धारणा राखेपछि सभाध्यक्षबाट सापकोटालाई निर्विरोध सभामुख चयन भएको घोषण हुनेछ ।
सर्वोच्चको डर
सापकोटाविरूद्ध १० वर्षअघि जिल्ला प्रहरी कार्यालय काभ्रेमा सोही जिल्लाका ४८ वर्षीय अर्जुन लामालाई अपहरण गरी हत्या गरेको किटानी जाहेरी दर्ता भएको थियो । किटानी जाहेरीसँगै सापकोटाविरूद्धको द्वन्द्वकालीन मुद्दासम्बन्धी रिट निवेदन आठ वर्षदेखि सर्वोच्च अदालतको संवैधानिक इजलासमा विचाराधीन छ । २०७२ चैत २२ मा तत्कालीन न्यायाधीशहरू सुशीला कार्की र ओमप्रकाश मिश्रको संयुक्त इजलासले सशस्त्र द्वन्द्वसँग सम्बन्धित रिट निवेदन संवैधानिक इजलासमा पठाउने निर्णय गरेको थियो । काभ्रेका लामालाई २०६२ वैशाख १६ मा तत्कालीन विद्रोही माओवादीले अपहरण गरी हत्या गरेका थिए ।
स्थानीय श्रीकृष्ण मावि दाप्चा, छत्रेबाँझ विद्यालय व्यवस्थापन समितिको चुनावबाट अध्यक्षमा निर्वाचित भएको दिनमै लामा विद्यालय परिसरबाटै अपहरणमा परेका थिए । उनलाई ‘केही कुराकानी गरी फर्काउने’ भन्दै तत्कालीन माओवादी कार्यकर्ताले अपहरण गरी लगेका थिए । अर्जुनकी पत्नी पूर्णिमाया लामा २०६४ सालमा काभ्रे जिल्ला प्रहरी कार्यालयमा तत्कालीन माओवादी नेता सापकोटा, सूर्यमान दोङसहित ६ जनाविरूद्ध किटानी जाहेरी दर्ता गर्न गएकी थिइन् ।
वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले हत्या आरोप लागेका सापकोटालाई सभामुख बनाउन लागिएको भन्दै शुक्रबार सर्वोच्च अदालतमा रिट दायर गरेका थिए । यसै रिटका आधारमा सर्वोच्चले हाललाई सभामुख प्रक्रिया रोक्नु भन्ने आदेश देला भन्ने डर पूर्व माओवादी खेमाका नेताहरूमा रहेको छ । प्रधानमन्त्री केपी ओलीले सुवास नेम्बाङलाई सभामुख बनाउन चाहेका थिए । सापकोटा सभामुख बन्न लागेको उनले पनि सहज रूपमा रुचाएका छैनन् । त्यसैले बालुवाटारकै इशारामा अग्निविरूद्ध घेराबन्दी त भैरहेको छैन भन्ने आशंका नेकपाका पूर्व माओवादी खेमामा व्याप्त छ ।
नेकपा एक नेताले यदि बालुवाटारकै इशारामा सापकोटालाई सभामुख बन्नबाट रोकियो भने ओली सरकार ढल्ने बताए । नाम नबताउने शर्तमा उनले भने ‘सापकोटालाई फसाउन आफ्नै पार्टीबाट षडयन्त्र भैरहेको छ । राष्ट्रपतिका राजनीतिक सल्लाहारको राजीनामा र सापकोटाविरूद्ध सर्वोच्चमा रिट दायर हुनुलाई सामान्य रूपमा हेर्न सकिन्न भनिएको छ । त्यसैले आजको दिन राजनीतिक परिदृश्यबाट हेर्दा निकै महत्वपूर्ण हुन सक्छ ।’