पाकिस्तान क्रिकेट बोर्डले आगामी सेप्टेम्बरमा पाकिस्तानमा हुने एशिया कप भारतले बहिष्कार गरेमा २०२१ मा भारतमा हुने टी-२० विश्वकप बहिष्कार गर्ने धम्की दिएको छ ।
पाकिस्तान बोर्डका प्रमुख वासिम खानले भारतलाई यस्तो धम्कि दिएका हुन् । मिडियामा आगामी सेप्टेम्बरमा हुने एशिया कप बंगलादेशमा गर्न पाकिस्तान राजी भएको रिपोर्ट आएपछि पाकिस्तानी बोर्डका प्रमुखले यस्तो बताएका हुन् ।
उनले पाकिस्तानले एशिया कप आयोजना नछोडेको पनि स्पष्ट गरे । मिडिया रिपोर्टमा अहिले पाकिस्तान भ्रमणमा रहेको बंगलादेशसँग एशिया कप आयोजनाको सहमति भएको उल्लेख गरिएको थियो ।
वसिमले आयोजन स्थल बदल्ने अधिकार पाकिस्तानी बोर्ड या आइसीसीसँग नभएर एशियन क्रिकेट परिषदसँग भएको बताए ।
भारतीय क्रिकेट टिमले सन् २००८ देखि पाकिस्तानको भ्रमण गरेको छैन । पाकिस्तानी क्रिकेट टिमले भने २०१२ मा भारतको भ्रमण गरेको थियो ।
दुवै बीच सिरिजका खेल नभएपनि विश्वकप जस्ता खेलहरुमा भने दुवै टिम एकार्का विरुद्ध खेल्दै आएका छन् ।