नेपालमा थप दुई जनामा देखियो कोरोनाको संक्रमण, परीक्षणका लागि ‘स्याम्पल’ हङकङ पठाइयो

नेपालमा थप दुई जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । चीनबाट स्वदेश फर्किएका थप दुई जनामा कोरोना भाइरसको आशंकामा टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा उपचार थालिएको छ ।

अस्पताल स्रोतका अनुसार कोरोना संक्रमणको आशंकामा उपचाररत दुई जनामध्ये एक जना पुरुष र अर्को एक जना महिला छन् । ‘एक जना ४८ वर्षीया महिला र २८ वर्षका एक जना पुरुषमा कोरोना भाइरसको आशंकामा उपचार भइरहेको छ’ श्रोतले भन्यो ।



उनीहरुको टेकु अस्पतालको आइसुलेसन वार्डमा उपचार भइरहेको छ । ४८ वर्षीया महिला चीन आयोजित एक कार्यक्रममा सहभागी भएर फर्किएकी थिइन् । उनी माघ ११ गते (हिजो) टेकु अस्पताल पुगेकी थिइन् भने २८ वर्षीय पुरुष विदेशबाट नेपाल फर्किंदा चीन ट्रान्जिट हुँदै आएका थिए । उनी माघ १० गते अस्पताल पुगेका थिए ।

दुबै जनामा ज्वरो आउने, स्वास फेर्न गारो हुने लगायतका समस्या देखिएको छ । ‘चीनबाट आएका दुबै महिला र पुरुषमा ज्वरो आउने, स्वास फेर्न गारो हुने, खोकी लाग्ने लगायतका समस्या देखिएको छ,’ अस्पताल श्रोतले भन्यो,‘प्रारम्भिक अवस्थालाई हेर्दा उनीहरुमा कोरोना संक्रमण भएको हो कि भन्ने आशंका रहेको छ ।’

उनीहरुको स्याम्पल परीक्षणका लागि हङकङ पठाइएको र रिपोर्ट आएपछि मात्र पूर्ण रुपमा कोरोना संक्रमणबारे एकिन हुने स्रोतको भनाइ छ ।

यसअघि एक जनामा कोरोनाको संक्रमण देखिएको भन्दै गरिएको परीक्षणबाट पुष्टि भएको थियो । चीनबाट नेपाल फर्किएका एक युवामा कोरोनाको आशंकामा ‘स्याम्पल’ परीक्षणका लागि हङकङ पठाइएकोमा उनमा कोरोनाको संक्रमण रहेको पुष्टी भएको थियो । उनको अहिले अवस्था सामान्य रहेको र टेकु अस्पतालको नियमित सम्पर्कमा रहेको चिकित्सकहरुले बताएका छन् ।

चीनबाट शुरु भएको कोरोना भाइरसको संक्रमणबाट अहिलेसम्म ५६ जनाको ज्यान गइसकेको छ ।

कोरोना फ्रान्स अस्ट्रेलिया, कोरिया, अमेरिका, भारत, हङकङ लगायत १३ देशमा देखा परेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् । कोरोना भाइरसबाट २ हजार भन्दा धेरै मानिस संक्रमित भएको जनाइएको छ ।

सम्बन्धित समाचार