नवकान्तिपुर संवाददाता
काठमाडौं, १२ माघ ।
प्रतिनिधिसभाको रिक्त सभामुख पदमा माननीय अग्निप्रसाद सापकोटा निर्विरोध निर्वाचित भएका छन् । प्रतिनिधिसभाको आज बसेको बैठकले सो पदका लागि सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अग्निप्रसाद सापकोटाको मात्र उम्मेदवारी परेकाले बैठकमा प्रस्तावकले प्रस्ताव प्रस्तुत र समर्थकले समर्थन गरेपछि उनलाई निर्विरोध निर्वाचित भएको घोषणा गरिएको हो ।
त्यस प्रस्तावको प्रस्तावकमा नेकपा संसदीय दलका उपनेता सुवास नेम्बाङ तथा समर्थकमा नेकपाका प्रमुख सचेतक देवप्रसाद गुरुङ र सांसद ओनसरी घर्ती एवं तथा राष्ट्रिय जनता पार्टीका सांसद लक्ष्मणलाल कर्ण रहेका थिए ।
तत्कालीन सभामुख कृष्णबहादुर महरा महिलामाथिको यौन दुर्व्यवाहारको विवादमा परेपछि गएको असोज १५ गते पदबाट राजीनामा दिएका थिए ।