नवनिर्वाचित सभामुख सापकोटाविरुद्धको रिटको सुनुवाइ आज, सपथ पनि आजै

अग्निप्रसाद सापकोटालाई सभामुख निर्वाचित नगर्न माग गर्दै सर्वोच्च अदालतमा दायर भएको रिट निवेदन माथिको सुनुवाइको लागि आज पेसी तोकिएको छ । प्रतिनिधिसभाका नवनिर्वाचित सभामुख अग्निप्रसाद सापकोटाले आजै पद तथा गोपनियताको सपथ ग्रहण पनि गर्दै छन् । उनलाई राष्ट्रपति विद्यादेवी भण्डारीले विहान ११ बजे शितल निवासमा सपथ ग्रहण गराउने राष्ट्रपति कार्यालयले जनाएको छ ।

सापकोटा हिजो बसेको प्रतिनिधि सभा बैठकबाट सभामुखमा निर्विरोध निर्वाचित भएका हुन् । न्यायाधीश हरिप्रसाद फुँयालको एकल इजलासमा आइतवार९हिजो० पेसी तोकिएको थियो तर सर्वोच्च अदालतको न्यायाधीश हुनुअघि सापकोटा विरुद्धकै अर्को मुद्दामा कानून व्यवसायीको हैसियतले बहस गरेको हुनाले मुद्दा हेर्न नमिल्ने सूचीमा राखिएको थियो ।



वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले यही माघ १० गते दायर गरेको निवेदनमा संविधान एवं कानूनको गम्भीर उल्लङ्घन हुने जनाउँदै सभामुखका लागि प्रस्तावित उम्मेदवार सापकोटालाई सभामुखमा निर्वाचन नगर्न माग गरिएको थियो ।

निवेदनमा सापकोटालाई सभामुखमा निर्वाचित गरिएमा पीडितको न्याय प्राप्तिको अधिकार कुण्ठित हुने एवं प्रतिनिधिसभा पूर्णरूपमा अमर्यादित हुने भई अपूरणीय क्षति पुग्ने जिकिर गर्दै निवेदनको अन्तिम टुङ्गो नलागेसम्म निजलाई कार्य नगर्न नगराउन अन्तरिम आदेश माग गरिएको छ ।

प्रतिनिधिसभाले हिजो नै सभामुखको निर्वाचन प्रक्रिया पूरा गरी सापकोटालाई सभामुखमा निर्वाचित गरिसकेको भए पनि सो रिट निवेदनको सुनुवाइ भने आज सोमवारका लागि तय भएको हो ।

सम्बन्धित समाचार