सानेपामा झडप

नेपाली कांग्रेस पार्टी कार्यालय सानेपामा हात हालाहाल भएको छ । सभापति शेरबहादुर देउवालाई नेविसंघका पूर्वमहामन्त्री कुन्दनराज काफ्ले समूहले अवरोध सिर्जना गरेपछि संस्थापन समूहसँग हात हालाहाल भएको हो ।

नेविसंघको संस्थापन निकट एक विद्यार्थी नेताले सभापति देउवालाई काफ्ले समूहले अवरोध सिर्जना गरेपछि संस्थापन समूहका विद्यार्थीहरुले प्रतिकार गरेको जानकारी दिए ।



“पार्टी सभापति बैठकका लागि पार्टी कार्यालयमा प्रवेश गर्दै हुनुहुन्थ्यो । पार्टी कार्यालयकै प्रवेशद्वारमा अनशनरत समूहले अवरोध सिर्जना गर्‍यो,” उनले भने, “सभापतिलाई अवरोध सिर्जना गरेपछि हाम्रो समूहबाट प्रतिकार भएको हो ।”

कांग्रेसले सोमबार नेविसंघको केन्द्रीय कार्यसमिति घोषणाको तयारी गरेपछि काफ्ले निकट समूह विरोधमा उत्रिएको छ । उक्त समूहले विगत ४१ दिनदेखिको जारी रिले अनशनलाई आजबाट आमरण अनशनमा परिणत गरेको छ । काफ्ले समूह विधानमा भएको व्यवस्था बमोजिम ३२ वर्ष मुनीको उमेर समूहबाट तदर्थसमिति ल्याउनुपर्ने माग राख्दै आएको छ ।

सानेपामा रहेको सुरक्षा स्रोतले निवर्तमान महामन्त्री काफ्ले भाषण गर्दै गर्दा केही विद्यार्थीले गमला प्रहार गरेको जानकारी दिएको छ । “काफ्लेजी आफ्नो असहमति राखिरहुनभएको थियो । एकाएक भिडमा गमला प्रहार भयो,” उनले भने, “केही विद्यार्थी घाइते भएका छन् ।”

तर, संस्थापन निकट विद्यार्थीहरुले झडपमा कोही पनि घाइते नभएको र अहिले अवस्था सामान्‍य भइसकेको दाबी गरेको छ ।

काफ्ले समूहले सभापति देउवाले पार्टी कार्यालय प्रवेशमा अवरोध सिर्जना गरेपछि नेविसंघ काठमाडौंका जिल्ला अध्यक्ष मनोज वैद्यनिकट विद्यार्थीहरु प्रतिकारमा उत्रिएका बताइएको छ ।

सम्बन्धित समाचार