नवकान्तिपुर संवाददाता
काठमाडौं, १३ माघ ।
नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले समाजका रहेका सबैखाले विभेदको अन्त्य गरेर मात्र सामाजिक न्याय सम्भव हुने बताएका छन् । सोमबार काठमाडौंमा भएको नेकपाको भातृ संगठन आदिवासी जनजाति महासंघ नेपालको सपथ समारोहलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले सो कुरा बताएका हुन् ।
नेपालमा जातीय मुक्ति र वर्गीय मुक्ति अन्तरसम्बन्धित रहेको भन्दै उनले यसलाई सही ढंगले परिभाषित गर्न नसकिएको बताए । उनले भने ‘बहुजातीय, बहुसांस्कृतिक, बहुभाषिक मुलुक भएकाले विविधतायुक्त मुलुकमा एकता कायम गर्न सबैलाई समान अधिकार दिनु पर्छ । जबसम्म समाजमा रहेका शोषण उत्पीडन समुदायहरूलाई समान अधिकार दिइँदैन तबसम्म समानताको कुरा गर्नु भ्रममात्र हुने छ ।’
साम्राज्यवाद र सामन्तवादलाई परास्त गरेर युद्ध जित्न र सामाजिक न्यायका पक्षमा लड्न अझै पनि आवश्यक रहेका बताउँदै उनले भने ‘सामन्तवादका विरूद्ध र सामराज्यवादका विरूद्ध एउटा लडाइँ त हामीले जित्यौ तर सम्पूर्ण युद्ध जित्न अझै बाँकी छ । हामीले अझै मेहनेत गर्नुपर्ने र एकताबद्ध हुनुपर्ने, बदलिएको परिस्थितिमा हाम्रो हिजोको आन्दोलनबाट जे जती उपलब्धिहरू प्राप्त भएका छन् तिनको रक्षा गर्नु पर्ने कुरामा पनि हामी सर्तक हुनुपर्ने ऐतिहासिक क्षणमा हामीहरू उभिएका छौं ।’
प्रचण्डले नेपालको संविधानमा केही परिवर्तन गर्नुपर्ने देखिए पनि संविधानले बहुजातीय, बहुसांस्कृतिक, बहुभाषिक मुलुक रहेको स्वीकार गरिसकेको पनि प्रष्ट पारे ।