चितवनस्थित गौतम बुद्घ अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणको सहयोगार्थ जगदम्बा सिमेन्टले १० लाख नगद सहयोग गर्ने भएको छ । सुवानी फिल्मसद्वारा निर्मित नेपाली चलचित्र ‘सेन्टी भाइरस’ को मिडिया प्रमोसनको निमित्त ‘गौतम बुद्व क्रिकेट रंगशाला निर्माणमा साथ छ जगदम्बा सिमेन्टको’ भन्ने नारा सहित जगदम्बा सिमेन्टले उक्त रकम सहयोग गर्न लागेको हो ।
कलाकारद्वय सीताराम कट्टेल र कुञ्जना घिमिरेद्वारा स्थापित धुर्मुश सुन्तली फाउण्डेसनले नेतृत्व लिएको र राष्ट्रकै गौरवका रूपमा बन्न लागेको अत्याधुनिक अन्तर्राष्ट्रिय स्तरको क्रिकेट रङ्गशाला निर्माणमा धेरै व्यक्ति तथा संघसंस्थाले आ–आफ्नो क्षमता अनुसार सहयोग गरिरहेका छन् र यसैक्रममा जगदम्बा सिमेन्ट पनि मिडिया प्रमोसनमार्फत यस पुनीत कार्यमा सरिक भएको बताइएको छ ।
निर्माणाधीन गौतम बुद्ध क्रिकेट रङ्शालामा कार्यरत निर्माणकर्मीहरूको मनोबल बढाउन तथा निर्माणस्थलमा चोटपटक लाग्दा प्राथमिक उपचार गर्न सहज होस् भन्ने उद्देश्यले जगदम्बा सिमेन्टले प्राथमिक उपचार बक्स पनि वितरण गरिएको पनि जानकारी प्राप्त भएको छ ।