नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को केन्द्रीय कमिटी बैठक आजदेखि शुरू हुँदैछ। बिहान ११ बजे बैठक बस्न लागेको बैठकमा प्रधानमन्त्री ओलीले उद्घाटन मन्तव्य दिने छन् । यस अघि हिजो बसेको नेकपा सचिवालय बैठकले बैठकका एजेण्डाहरु सार्वजनिक गरेको छ।
पार्टी एकतापछि यो दोस्रो बैठक हो। केन्द्रीय कमिटी बैठकमा ४ सय ४५ जना सदस्य छन् । पार्टी कार्यालयमा सबै अट्न सम्भव नभएकाले सभागृहको हल बुक गरिएको नेकपाले जनाएको छ । बैठकमा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालले राजनीतिक प्रतिवेदन र महासचिव विष्णु पौडेलले सांगठानिक प्रतिवेदन पेस गर्नेछन् ।
तत्कालिन एमाले र माओवादी केन्द्रबीच २०७५ जेठ ३ मा पार्टी एकता भएपछि दोस्रो पटक बस्न लागेको यो बैठकले विधान संशोधन प्रस्ताव अनुमोदन गर्नेछ। विधान संशोधन भएपछि वामवेद गौतम उपाध्यक्ष हुनेछन् ।
यस्तो छ सचिवालयले सार्वजनिक गरेका एजेण्डाहरु
सहिदहरुप्रति श्रद्धाञ्जलि
अध्यक्ष केपी ओलीले बैठकको उद्घाटन र मन्तव्य
अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अध्यक्षद्वयको तर्फबाट राजनीतिक प्रतिवेदन पेश गर्ने
महासचिव विष्णु पौडेलले सांगठनिक प्रतिवेदन र विधान संशोधन प्रस्ताव प्रस्तुत गर्ने
सात वटै प्रदेशमा प्रदेश अध्यक्षहरुले सांगठनिक रिपोर्ट आफ्नो प्रदेशका तर्फबाट प्रस्तुत गर्ने
समसामयिक प्रस्तावहरु (अहिलेका तत्कालीन विषयहरु)
विविध