केही दिनअघि मात्र उपसभामुख पदबाट राजीनामा गर्न लगाएको सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले डा. शिवमाया तुम्बाहाम्फेलाई नेकपा केन्द्रीय सदस्य बनाएको छ ।
नेकपा सचिवालयको मंगलबारको बैठकले डा। तुम्बाहाङ्फेलाई केन्द्रीय सदस्यमा मनोनित गरेको हो । नेकपा महासचिव विष्णु पौडेलले मंगलबारको सचिवालय बैठकले तुम्बाहाङ्फेलाई केन्द्रीय सदस्यमा मनोनित गर्ने निर्णय गरेको पुष्टि गरेका छन् ।
नेकपा केन्द्रीय समितिको बैठक आजै (बुधबार) शुरु हुँदैछ । त्यसैको पूर्व सन्ध्यामा तुम्बाहाङ्फेलाई केन्द्रीय सदस्यमा मनोनित गरिएको हो ।
पार्टी एकताअघि तुम्बाहाङ्फे तत्कालीन एमालेको केन्द्रीय सदस्य थिइन् । तर उपसभामुख बनेपछि संवैधानिक प्रावधानअनुरूप उनले पार्टीको सदस्यता परित्याग गरेकी थिइन् । तत्कालीन सभामुख कृष्णबहादुर महरा यौन दुव्र्यवहार अभियोगमा गत असोज १४ देखि प्रतिनिधिसभा सभामुखविहीन बनेको थियो ।
त्यसमा पदपूर्ति गर्न नेकपाले नेता अग्नि सापकोटालाई सभामुख बनाउने निर्णय गरेपछि तुम्बाहाङ्फेले राजीनामा दिनुपरेको थियो ।