रौतहटमा प्रहरी र आपराधिक समूहबीच गोली हानाहान भएको छ । गोली लागेर आपराधिक समूहका १ जना घाइते भएका छन् ।
रौतहटको इशनाथ नगरपालिका–१ स्थित बकैया नदीको बाँधनजिकै गएराति १२ः३० बजे प्रहरी र आपराधिक समूहबीच गोली हानाहान भएको हो । घटनामा प्रहरीको गोली लागेर आपराधिक समूहका २० वर्षीय चाँद अली घाइते भएको प्रहरीले जनाएको छ ।
आपराधिक समूह भारत हुँदै नेपाल प्रवेश गर्न लागेको सूचना पाएपछि प्रहरी टोली नेपाल–भारत सिमानामा पुगेको थियो । प्रहरीका अनुसार, मोटरसाइकलमा आएका ३ जनालाई प्रहरीले रोक्न खोजेपछि गस्ती टोलीमाथि फायरिङ भएको थियो । यही क्रममा आत्मरक्षाका लागि गोली चलाउँदा चाँद घाइते भएको प्रहरीले जनाएको छ ।
दाहिने घुँडामुनि गोली लागेको चाँदको हाल गौरस्थित अस्पतालमा उपचार भइरहेको छ ।