बक्स अफिसमा तनाजी सुपरहिट : छपाक, स्ट्रिट डान्सर र पंगा फ्लप

बलिवुडमा अजय देवगनको फिल्म तानाजीले रिलिजको तेस्रो सातामा पनि बक्स अफिसमा शानदार प्रदर्शन गरिरहेको छ ।

रिलिजको तेस्रो सत्ताको मंगलबार फिल्मले ३ करोड २२ लाख कमाई गर्दै बक्स अफिसमा अहिलेसम्म २३२ करोड १८ लाख कमाई गरेको छ । तनाजीको लागत १२० करोड रहेको छ ।



तनाजीको बक्स अफिसको प्रदर्शनले ओझेलमा परेको दीपिका पादुकोणको फिल्म छपाकको असफलतापछि यसै साता रिलिज भएका दुई फिल्म बरुण धवनको स्ट्रिट डान्सर ३ डि र कंगना रनावतको पंगालाई समेत असर गरेको छ ।

बक्स अफिसमा छ्पाकले केवल ३२ करोड ४८ लाख कमाई गर्न सफल रह्यो । कथा र विषयवस्तुको हिसाबले उत्कृष्ट रहेपनि तनाजीको प्रभावको अगाडी छपाकको प्रदर्शन बक्स अफिसमा निराशाजनक रह्यो । करिब ४० करोडको लागतमा बनेको छ्पाक बक्स अफिसमा असफल हुन पुग्यो ।

त्यस्तै तनाजीको सफलताको असर यसै साता रिलिज भएको डान्समा आधारित फिल्म स्ट्रिट डान्सरलाई समेत परेको छ । करिब ११० करोडको लागतमा बनेको स्ट्रिट डान्सरले शुरुको तीन दिनमा ४१ करोड २३ लाख कमाई गर्यो । त्यसपछि सोमबार र मंगलबारको कमाई तनाजीकै हाराहारीमा भएपछि स्ट्रिट डान्सरको कमाईमा असर पुग्ने देखिएको छ । स्ट्रिट डान्सरले मंगलबारसम्म ४९ करोड ७६ लाख कमाई गरेको छ ।

महाराष्ट्रसहितका ठाउमा अझै पनि तनाजी शानदार रुपमा प्रदर्शन भइरहेको छ । अब ३१ जनवरीमा सैफ अली खानको फिल्म जवानी जानेमान रिलिज हुन लागेकाले स्ट्रिट डान्सरले आफ्नो लागत उठाउन मुश्किल हुने देखिएको छ । यस फिल्ममा बरुण र श्रद्धाका अलावा नोरा फतेहीको अभिनय रहेको छ ।

त्यस्तै गत शुक्रबार रिलिज भएको कंगना रनावतको फिल्म पंगाको पनि यस्तै हालत रहेको छ । फिल्मले मंगलबारसम्म केवल १८ करोड २१ लाख कमाई गरेको छ । यस फिल्मको कुल लागत लगभग ५५ करोड रहेको बताइएको छ ।

यसरी हेर्दा अजय देवगनको तनाजीको अगाडी छपाकसहित स्ट्रिट डान्सर र पंगालाई मुश्किल भएको छ ।

सम्बन्धित समाचार