उपसभामुखमा राजपाको दाबी छैन : महिन्द्रराय यादव

राष्ट्रिय जनता पार्टी (राजपा) अध्यक्ष मण्डलका संयोजक महिन्द्रराय यादवले उपसभामुख पदमा आफ्नो पार्टीको दाबी नभएको प्रष्ट पारेका छन् । बिहीबार रिपोर्टस क्लब नेपालमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै यादवले उपसभामुख पदका लागि आफ्नो पार्टीको दाबी नभएको प्रष्ट पारेका हुन् ।

संयोजक यादवले राजपाले उपसभामुखको दाबी नगरेको भए पनि सरकारले राजपालाई नै उपसभामुख दिन चाहनुलाई आफूहरूले नबुझेको बताए । ‘मधेशमा भएका सहिदहरूका सपना साकार पार्नु नै हामीहरूको माग हो’, यादवले भने । आफ्नो कुरा प्रष्ट पार्दै उनले भने, ‘कुनै पद, सरकार र उपसभामुख हाम्रो माग होईन् । हामी सहिदको रगतमा कुनै सौदाबाजी गर्ने पक्षमा छैनौं ।’ आफूहरूले राष्ट्रियसभाको चुनावको लागि मात्र नेकपासँग सहमति गरेको र त्यो सफल रूपमा कार्यान्वयन पनि भएको बताउदै यादवले नेकपासँगको सहमति सरकारमा जानका लागि नभएको बताए ।



यदि सरकारले आफूहरुका माग र मुद्दाहरूको सम्बोधन गरेर सहज वातावरण बनाएमा त्यो बेला सरकारमा जाने नजाने विचार गर्न सकिने तर अहिलेकै स्थितिमा भने सरकारमा नजाने यादवको भनाई थियो ।

पछिल्लो समयमा राजनीतिक वृतमा चर्चाको विषय बनेको अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) को बारेमा यादवले भने ‘सरकारले संसदमा ल्याएपछि मात्र त्यसमा राजपाले के गर्ने भन्ने विषयमा विचार गर्छ । त्यसमा छलफल गर्नुपर्ने कुनै बुँदाहरू भए छलफल पनि गरिनु पर्छ । यदि अमेरिकाले दिन लागेको यति ठूलो अनुदान जनचाहना र मुलुकको हितमा छ भने सरकारलाई हाम्रो पनि साथ समर्थन रहन्छ ।’

सम्बन्धित समाचार