शिक्षाको गुणस्तर वृद्धि गर्नका शिक्षक र अभिभावकको भूमिका महत्वपूर्ण: अध्यक्ष तिमिल्सिना

राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले निजी र सरकारी विद्यालयबीचको गुणस्तरताको खाडल अन्त्य गर्नुपर्नेमा जोड दिएका छन् ।

विदेशी सहयोगमा निर्माण भएको तनहुँको बन्दीपुर गाउँपालिका–५ कल्चोकस्थित जलदेवी प्राथमिक विद्यालय भवनको आज उद्घाटन गर्दै राष्ट्रियसभा अध्यक्ष तिमिल्सिनाले राज्यको लगानी रहेको सरकारी विद्यालयमै शिक्षाको गुणस्तर कमजोर हुनु दुःखद रहेको बताए ।



“निजी विद्यालयमा सरकारको लगानी छैन, तर निजी विद्यालयमा नै शिक्षाको गुणस्तर राम्रो छ,” उनले भने, “सरकारको लगानी रहेको सरकारी विद्यालयमा शिक्षाको गुणस्तर किन कमजोर छ, त्यसतर्फ गम्भीर भएर सोच्नुपर्ने बेला आएको छ ।” अध्यक्ष तिमिल्सिनाले सरकारी विद्यालयको शिक्षाको गुणस्तर वृद्धि गर्नका लागि शिक्षक र अभिभावकको भूमिका महत्वपूर्ण रहने बताए ।

सरकारी विद्यालयमा अभिभावकको चासो कम रहने गरेको बताउँदै उनले अभिभावकको चासोले मात्रै शिक्षाको गुणस्तर सुधार गर्न सकिने धारणा व्यक्त गरे । “निजी बोर्डिङमा पढाउने अभिभावकले बालबालिकाको ध्यान दिने गरेको पाइन्छ”, उनले भने, “सरकारी विद्यालयमा पढाउने अभिभावकले भने बालबालिकाले कस्तो शिक्षा लिइरहेका छन् भन्नेतर्फ चासो राखेको पाइँदैन, जसले सरकारी विद्यालयको गुणस्तर खस्किरहेको छ ।”

अध्यक्ष तिमिल्सिनाले अबको युग प्रविधिको भएकाले शिक्षकहरु पनि प्रविधिमैत्री बन्नुपर्ने उल्लेख गर्दै परम्परागत ढर्राबाट सञ्चालन गरिने शिक्षण सिकाइ प्रभावकारी नहुने भएकाले शिक्षकहरुले प्रविधिको प्रयोग गरी नयाँ ढङ्गबाट पठनपाठन सञ्चालन गर्नुपर्नेमा जोड दिए ।

देश बनाउन सबै जनता आ–आफ्नो ठाउँबाट लाग्नुपर्नेमा जोड दिँदै उनले नेताहरुले मात्रै देश बनाउनुपर्छ भन्ने भावना त्याग्न आग्रह गरे ।

सम्बन्धित समाचार