पूर्वराजा ज्ञानेन्द्र शाहको नेपाल वायुसेवा निगमलाई ५ करोड हाराहारी बक्यौता तिर्न बाँकी रहेको खुलेको छ । पूर्वराजा शाहले विभिन्न समयमा नेपाल एयरलाइन्सका विमान चार्टर गरेबापतको वक्यौता रकम नतिरेको खुलेको हो ।
निगमका सहप्रवक्ता जीवन भट्टराईका अनुसार उनले २०६३ साल यता ४ करोड ८७ लाख ५६ हजार ९ सय ८२ रुपैयाँ बक्यौता तिरेका छैनन् । त्यो रकम अहिले पूर्वराजा शाहकै नाममा बक्यौता राखिएको छ । सहप्रवक्ता भट्टराई भन्छन्, ‘अहिले रकम उठाउने प्रक्रियामा छ ।’
सुशील कोइराला प्रधानमन्त्री हुँदाताका ५ महिना संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्री बनेका जीवन बहादुर शाही त्यसबेला पूर्वराजा ज्ञानेन्द्र शाहको नाममा नेपाल वायु सेवा निगममा भएको बक्यौताको बिषय नउठेको बताउँछन् ।
‘त्यसबेला त्यो विषय उठेन भन्दैमा राज्यकोषको झण्डै ५ करोड रुपैयाँको विषय छाड्न मिल्दैन, पूर्वराजा ज्ञानेन्द्रले राज्यप्रमुखको हैसियतमा प्रतिनिधित्व गर्दा भएको खर्च विचारणीय हुन सक्छ,’ उनले भने ‘तर राज्य प्रमुख नै हुँदा पनि निजी प्रयोजनका लागि भएको खर्चको भार राज्य लिन सक्दैन, आवश्यक कानूनी प्रकिया अपनाएर भए पनि रकम असुली गर्नुपर्छ ।’
पूर्वराजाको हैसियतमा उनलाई सरकारले आवास र सुरक्षा व्यवस्था मिलाएको स्मरण गराउँदै उनले भने ‘खाएको र हिँडेको विषय पनि राज्यले बेहोर्ने गरिको सुविधा भएको मेरो जानकारीमा छैन ।’
पूर्व पर्यटनमन्त्री नै रहेका नेकपाका नेता आनन्द पोखरेलको मत पनि शाहीसँगै मिल्दोजुल्दो छ ।
‘२ सय ४० वर्षदेखि शासन गरेको पुर्खाको विरासतलाई सहजै परिवर्तनलाई स्वीकार गरेर रक्तपातरहित ढंगले राजगद्दी त्याग्नु सह्रानीय थियो,’ पोखरेलले भने ‘त्यसबापत नै हो पूर्वराजा शाहलाई सरकारले उनको मागबमोजिम आवास र सुरक्षाको ब्यवस्था गरेको । तर त्यसो भन्दैमा उनी आफ्नो दायित्वबाट उम्कन पाउँदैनन् । निजी प्रयोजनका लागि गरेको उनको जहाजको खर्च सरकारले बेहोर्न सक्दैन यो दायित्वबाट उनि उम्कन पाउँदैनन् ।’