हिउँदमा पूर्वी रुकुमका उत्तरी भेगमा प्राय हिउँपर्ने हुँदा त्यहाँ पशुपालक कृषक चिसो छल्न भन्दै आफ्ना पशु चौपायालाई बेंसीतिर झार्छन् । मङ्सिरको शुरुआतसँगै उनीहरुले आफूले पालेका चौपाया भेडा बाख्रालाई चिसोबाट जोगाउन र चराउन दक्षिणी भेगका ल्याउने गर्छन् ।
पूर्वी रुकुमको भूमे गाउँपालिका वडा नं १ लुकुमका चार जना भेडापालक किसान पनि यो वर्ष भेडालाई चिसोबाट जोगाउन भन्दै आफूहरुले पालेका सयौँ भेडा बाख्रा साथमा लिएर मङ्सिर दोस्रो साता दाङतिर झरेका थिए । विगत वर्षमा उनीहरुले जिल्लाका दक्षिणी भेगमा बथान सारेर हिउँदभर राख्ने गरेकामा यो वर्ष चरन राम्रो हुने, चिसो धेरै नहुने हुँदा भेडालाई रामो हुने भन्दै दाङ झरेका थिए । तर, चरनका लागि दाङ ल्याएको २०० भेडा अज्ञात रोगले मरेका छन् ।
मङ्सिर १० गते रुकुमबाट हिँडेका उनीहरु पुस २९ गतेमात्रै घोराही उपमहानगरपालिका वडा नं १९ को पाँच पोखरीमा आइपुगेको भेडा किसान प्रेमबहादुर पुनले बताए । करिब दुई महिनाअघि प्रेमबहादुरसहित भेडाको बथान लिएर हिँडेका धर्म बुढामगर, धर्मकुमारी पुन र रामकृष्ण पुन रोल्पाको जलजला, भनभने, थामा हुँदै घोराही उपमहानगरपालिका वडा नं १९ को पाँचपोखरीमा आइपुगेका थिए । उनीहरुले घरबाट आउँदा करिब ४०० बढी भेडा बाख्रा साथमा लिएर हिंडेका थिए । भेडा किसान प्रेमबहादुर पुनका अनुसार उनले १२०, धर्म बुढाले पनि १२० वटा, धर्मकुमारी पुनका ११५ र रामकृष्ण पुनले ११५ वटा भेडा लिएर दाङ आएका थिए ।