आरआर क्याम्पसमा स्ववियु निर्वाचनको आन्तरिक तयारी हुँदै: आ–आफ्नो पक्षले जित्ने दाबी

देशभरकै सबैभन्दा ठूलो मानविकी क्याम्पस हो काठमाडौं प्रदर्शनीमार्गस्थित रत्नराज्यलक्ष्मी क्याम्पस । विगत लामो समयदेखि देशको राजनीतिक आन्दोलन र त्यसपछिको परिर्वतनमा समेत महत्वपूर्ण भूमिका निर्वाह गरेको यस क्याम्पसको नाम अहिले पनि अग्रपङ्तिमा नै आउँछ । आरआर क्याम्पसको नामबाट परिचित यस क्याम्पसलाई नेता उत्पादन गर्ने क्याम्पस पनि भन्ने गरिन्छ । आरआर क्याम्पस आफ्नो गौरवमय इतिहास बोकेको र नेपालको राजनैतिक इतिहाससँग राम्ररी जोडिएका क्याम्पसहरूमध्येको एक हो ।

निटक भविष्यमा हुने भनिएकोे स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको सरगर्मीले गर्दा आरआर क्याम्पसको वातावरण अहिले आन्तरिक रूपमा तात्तै गएको अवस्था छ । अबको स्ववियु सभापति को बन्ला भन्ने बारेमा विद्यार्थीहरूमाझ चर्चा–परिचर्चा आरम्भ भएको छ भने यो सबैका लागि उत्सुकताको विषय पनि बनेको छ । त्रिभुवन विश्वविद्यालयले आगामी फागुन १४ गते स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको मिति तोकेसँगै यतिबेला विद्यार्थी नेताहरू चुनावी तयारीमा जुटेका देखिन्छन् र आ–आफ्ना पक्षमा जनमत तयारी गर्न क्रियाशील देखिन्छन् ।



आरआर क्याम्पस स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) का वर्तमान सभापति तपेन्द्रबहादुर शाहीले स्ववियु निर्वाचन हुनु पर्छ भन्ने विषयमा सबै विद्यार्थी संगठनहरूबीच सहमति भइसकेको बताए । उनले भने ‘सबै विद्यार्थी संगठनहरूबीच सहमति भइसकेको छ । त्रिविले निर्वाचनको कार्यतालिका सार्वजनिक गर्ने वित्तिकै क्यामसमा निर्वाचन समिति बन्छ र अस्तित्वमा रहेका सबै विद्यार्थी संगठनहरू मिलेर सर्वदलीय बैठक बसेर चुनावलाई सभ्य र भव्य कसरी बनाउन सकिन्छ भन्ने विषयमा छलफल हुनेछ ।’

आरआर क्याम्पसमा अनेरास्ववियुले चुनाव जित्न त्यति गाह्रो नभएको सभापति शाहीको दाबी छ । उनले दुई विद्यार्थी संगठन अनेरास्ववियु र अनेरास्ववियु (क्रान्तिकारी) अहिले एक भएकाले सभापतिमा मात्र नभएर सबै पदमा प्राय उम्मेदवारका आकांक्षी धेरै हुुनु स्वाभाविक भएको बताए । संगठनले नै विद्यार्थीहरूका हक हितका लागि फिल्डमा खटिएर काम गरिहेका योग्य व्यक्तिहरूलाई नै छनौट गर्ने भएकाले उम्मेदवार छनौट गर्ने कुरामा संगठनभित्र अप्ठ्यारो अवस्था नभएको सभापति शाहीले प्रष्ट पारे ।

के भन्छन् आरआर क्याम्पसका सभापतिका दाबेदारहरू ?
पारदर्शिता र भ्रष्टचाररहित विभागहरूमा विशेष जोड दिन्छौ : देवकोटा
आरआर क्याम्पसमा अनेरास्ववियुबाट स्ववियु सभापतिको लागि दाबी गरिरहेकाहरूमध्येका एक हुन् वर्तमान स्ववियुका कोषाध्यक्षसमेत रहेका संगम देवकोटा । नवकान्तिपुर संवाददातासँगको कुराकानी उनले क्याम्पसमा पारदर्शी स्ववियु, भ्रष्टचाररहित विभागहरू, स्वच्छ र सफा क्याम्पस बनाउने आफूहरूको मुख्य अभियान भएको बताए । अनेरास्ववियुले निरन्तर विद्यार्थीहरूका मुद्दाहरू उठाइरहेको र विद्यार्थीहरूका समस्याहरूसँग जुधिरहेकाले पनि अनेरास्ववियु विद्यार्थीहरू माझ लोकप्रिय संगठन भएको उनको भनाइ थियो ।

दुई पार्टी (पूर्व एमाले र माओवादी केन्द्र) बीच एकता भएपछि भातृ संगठनहरू अनेरास्ववियु र अनेरास्ववियु (क्रान्तिकारी) को तल्लो तह अहिले पनि एकता प्रक्रियामा नै रहेको बताए । साथै उनले अहिले संगठनभित्र पनि स्ववियु सभापति पूर्व अनेरास्ववियु र पूर्व अनेरास्ववियु (क्रान्तिकारी) कसले बनाउने भन्ने विषयमा कुनै निर्णय नभएको भन्दै उनले भने ‘अरूले जे सुकै भने पनि यदि सभापति पूर्व अनेरास्ववियुको भागमा परेमा स्वतः म नै एक्लो उम्मेदवार हुँ । यदि त्यस्तो नभएर पूर्व अनेरास्ववियु (क्रान्तिकारी) को भागमा परेमा देवेन्द्र शर्मा हुनुहुन्छ । मलाई यसमा कुनै ठूूलो विवाद छ जस्तो लाग्दैन् । तर यसमा पनि कसलाई बनाउने भन्ने विषयमा संगठनले पनि निर्णय गर्ला ।’

विद्यार्थी राजनीतिको उचाइ बढाउन स्ववियु चुनाव आवश्यक: उपाध्याय
यसैगरी स्ववियु सभापतिको दाबी गरिरहेका अर्का व्यक्तित्व हुन् वर्तमान स्ववियु सहसचिव समेत रहेका शिवशंकर उपाध्याय । आरआर क्याम्पसमा अध्ययनरत उनी पनि पूर्व अनेरास्ववियु निकट विद्यार्थी नेता हुन् । क्याम्पस प्रशासन, कर्मचारीहरूलगायत विद्यार्थीहरूसँग लामो समयदेखि निकट भएर विद्यार्थीहरूको हक हितका लागि आफू लागिपरेको हुनाले विद्यार्थीहरूको अपेक्षा अनुसार आफू सभापतिको प्रबल दाबेदार भएको उनले बताए । उनले भने ‘म स्ववियु सभापति हुनका लागि योग्य उम्मेदवार हुँ । योग्यता र क्षमताको हिसाबले पनि म सक्षम छु । विद्यार्थीहरू र क्याम्पस प्रशासनको बीचमा पुलको काम गर्दै आइरहेकोले पनि अहिले विद्यार्थीहरूले मलाई नै रूचाइरहेका छन् ।’

स्ववियु निर्वाचन त्रिभुवन विश्वविद्यालयले नै गराउने भएकाले त्रिविले सर्कुर जारी गर्ने बित्तिकै क्याम्पसमा पनि चुनावको प्रक्रिया अघि बढ्ने छ र यसमा आफ्नो संंगठन पनि सकारात्मक भएर लाग्ने उपाध्यायले बताए । उनले भने ‘हिजो अस्ति मात्र नेविसंघको समिति पनि बनेको छ र उसको धारणा पनि चुनावमा जाने भन्ने नै छ । तोकिएकै समयमा स्ववियु चुनाव हुन्छ भन्नेमा म विश्वस्त छु । संगठनमा म भए पनि नभए पनि चुनाव भने हुनुु पर्छ । विद्यार्थी राजनीतिको उचाइलाई बढाउनको लागि पनि स्ववियु चुनाव आजको आवश्यकता हो ।’

देशैभरि अनेरास्ववियुले विजयको झण्डा गाड्नेमा हामी ढुक्क छौं: शर्मा
दुईओटा ठूला विद्यार्थी संगठनहरू एक भइसकेपछि पहिलो पटक आफू चुनावमा जान लागेकोमा खुसी व्यक्त गर्दै स्ववियु सभापतिका महत्वाकाङ्क्षी देवेन्द्र शर्माले एकताको सन्देशसहित देशैभरि अनेरास्ववियुले विजयको झण्डा गाड्नेमा आफू ढुक्क भएको बताए । आरआर क्याम्पसमा अनेरास्ववियु क्रान्तीकारीको अध्यक्ष भएकाले र पदीय हैसियतको कारणले पनि आफ्नो संगठनबाट आफू नै सभापतिको उम्मेदवार बन्ने शर्माको भनाई छ । उनले भने ‘अनेरास्ववियु क्रान्तिकारीको इतिहासमा पहिलो पटक क्याम्पस कमिटिको निर्वाचन अन्र्तगत म अध्यक्ष बनेको हुँ । त्यो बेलाका अध्यक्षका प्रत्याशी उम्मेदवारहरू अहिले क्याम्पसमा हुनुहुन्न । त्यसैले पनि हाम्रो संगठनमा सभापतिको हकमा भन्नु पर्दाखेरी म नै र्निविरोध जस्तो देखिन्छु ।’

भताभुङ विश्वविद्यालयलाई सही दिशामा ल्याउन हाम्रो पहल रहन्छ: विष्ट
आरआर क्याम्पसमा स्ववियु सभापतिको लागि आफ्नो उम्मेदवारी दाबी गर्दै आइरहेका नेपाल विद्यार्थी संघका नेता तथा स्ववियु सदस्य हुन् अशोकसिंह विष्ट । नेविसंघमा सभापतिको आकाङ्क्षीहरू धेरै भए पनि आफू नै सभापतिको प्रबल दाबेदार भएको उनले बताए ।

उनले आफू लामो समयदेखि विद्यार्थी राजनीतिमा सक्रिय भएर लागिरहेको, अहिले स्ववियु सदस्यसमेत रहेको र क्याम्पसमा पनि विद्यार्थीहरूसँग नजिक भएर विद्यार्थीका मागहरू सम्बोधन गर्नतर्फ पनि आफूले सक्दो भूमिका निर्वाह गर्दै आइरहेकोले पनि आफ्नो उम्मेदवारी स्वाभाविक भएको बताए । उनले अहिलेको भताभुङ विश्वविद्यालयलाई सही दिशामा ल्याउन, शिक्षालाई प्रविधिमैत्री बनाउन, विद्यार्थीहरूका अनेकांै समस्याहरूलाई र अहिलेको शिक्षाको गुणस्तरमा सुधार गर्न आफ्नो नेतृत्वले पहल गर्ने बताए ।

नेविसंघलाई दोषी देखाएर चुनावबाट बाहिरिने अवस्था अहिले छैन : खड्का
स्नातकोत्तर तहमा अर्थशास्त्र अध्ययनरत गरिरहेका नेविसंघका नेता नवीन खड्का पनि स्ववियु सभापतिको उम्मेदवारका दाबेदार हुन् । आफूले भोगेका, देखेका र अहिले देशमा स्वैच्छाकारी सरकारबाट सिर्जित समस्याहरूसँग प्रत्यक्ष परिचित भएको कारणले गर्दा यी सबैको समाधानको लागि पनि आफ्नो नेतृत्व आवश्यक रहेको उनको भनाइ छ । उनले भने ‘विगतमा नेपाल विद्यार्थी संघलाई नै दोषी देखाएर कतिपय साथीहरू चुनावबाट बाहिरिन खोज्थे भने अहिले त्यस्तो अवस्था छैन् । किनभने नेपाल विद्यार्थी संघको केन्द्रीय समिति पनि बनिसकेको छ । आरआर क्याम्पसको कुरा गर्ने हो भने पनि नेविसंघ चुनावमा जान तयार नै छ ।’

क्याम्पसमा अहिले पनि विद्यार्थीहरूका थुप्रै समस्याहरू रहेको सुनाउँदै उनले भने ‘भूगोल पढ्ने विद्यार्थीहरूका लागि अत्याधुनिक ल्याव छैन । पत्रकारिता, अर्थशास्त्र र राजनीति शास्त्र पढ्ने कतिपय विद्यार्थीहरू अंग्रेजी माध्यममा पढ्न चाहिरहेका छन् तर पर्याप्त सामग्रीहरू छैन् । यी र यस्तै थुप्रै समस्याहरूदेखि लिएर विद्यार्थी र प्रशासनबीचको खाडल पुर्नको लागि निश्चित रूपमा हाम्रो उम्मेदवारी रहन्छ । हामीहरू विद्यार्थीहरूका एजेण्डाहरू लिएर विद्यार्थीहरूकै माझ चुनावी मैदानमा जाँदै छौं । हामी चुनावको तयारीमा एकदम लागिरहेका छौं ।’

सम्बन्धित समाचार