नेतालाई मास्क लगाउन प्रधानमन्त्री ओलीको आग्रह

प्रधानमन्त्री तथा सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओलीले कोरोना भाइरसप्रति सजग हुनुपर्ने बताएका छन्। आइतवार नेकपाको केन्द्रीय कमिटीको दोस्रो पूर्ण बैठक समापन गर्दै प्रधानमन्त्री ओलीले नेपालमा कोरोना भाइरसका बिरामी नभएकाले आत्तिनुपर्ने अवस्था नरहेको बताए ।

चीनको वुहानमा रहेका नेपालीलाई स्वदेश फिर्ता गर्न लागेको सन्दर्भमा उनले ल्याएपछि महामारीको रुपमा फैलिए के गर्ने भन्ने प्रश्न गरे । उनले भीडभाडमा जाँदा मास्क लगाउने बानी बसाल्न समेत आग्रह गरेका छन् ।



उनले भने, ‘भीडभाडमा जाँदा मास्क लगाउने आदत बसालौँ। कोरोना हाम्रो देशमा प्रकट हुन नदिने कुरामा विस्वस्त छौँ । कोरना भाइरसको सन्दर्भमा सरकार सजग छ ।’

बैठकमा प्रधानमन्त्री ओलीले छाउगोठ भत्काइएको बताउँदै मनबाट पनि छाउपडी हट्नु पर्ने बताए ।

उनले भ्रष्टाचारमा संलग्न जोकोहीलाई पनि कारबाही गर्ने बताए। सरकारले राम्रो काम गरेको बताउँदै उनले थाहै पाइएन भन्नेलाई पुस्तिका बाँडेको समेत बताए । पार्टीले निर्देश गरेअनुसार सरकार चल्नुपर्ने उनको भनाइ थियो ।

‘पार्टीले निर्देश गरेअनुसार सरकार चल्नुपर्छ, देशको अपेक्षा अनुसार पार्टी एक ढिक्का भएर अघि बढेको छ,’ उनले भने ।

साथै प्रधानमन्त्री ओलीले बैठकको समापन गर्दै केन्द्रीय सदस्यलाई आज बेलुकी डिनरको निम्तो समेत दिएका छन् ।

सम्बन्धित समाचार