नेकपाले भन्यो-‘भारतले प्रकाशित गरेको राजनीतिक नक्सा अमान्य’

६ दिनदेखि बसेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को केन्द्रीय समिति बैठक ११ बुँदे प्रस्ताव पारित गर्दै आइतवार सम्पन्न भएको छ । पार्टी अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालले पेस गरेको राजनीतिक प्रतिवेदनमा भएका विषयलाई बैठकले संशोधनसहित पारित गरेको छ ।

नेकपाको अन्तरिम विधानको धारा ६० क (१) मा केन्द्रीय कमिटीको बैठक ६ महिनामा एकपटक बस्ने व्यवस्था भए पनि पहिलो बैठक बसेको करिब २० महिनापछि बैठक बसेको हो । ३ जेठ २०७५ मा तत्कालीन एमाले र माओवादी केन्द्रबीच एकता भएपश्चात् बृहत् छलफल नै गर्ने गरी पहिलोपटक बैठक बसेको हो ।



१० जेठ २०७५ मा हस्ताक्षर गर्न पहिलो बैठक बसेको थियो । बैठक ढिलो हुनुमा एकता प्रक्रिया, संविधान कार्यान्वयन र सरकारी कामका केही विशिष्टता र जटिलता रहेको नेकपाले आफ्नो प्रतिवेदनमै उल्लेख गरेको छ ।

बैठकले २ नोभेम्बर २०१९मा नेपालका लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्रलाई समेटेर भारतले प्रकाशित गरेको राजनीतिक नक्सालाई अमान्य ठहर गरेको छ । पार्टीले यस विषयमा सरकारले लिएको अडानलाई दृढ समर्थन गरेको छ । यो समाचार आजको राजधानी दैनिकमा सविन शर्माले लेखेका छन् ।

सम्बन्धित समाचार