मन्त्रीपरिषद पुनर्गठनको तयारीमा ओली, यी मन्त्रीहरूको हुँदैछ विधाई

नेपाल कम्युनिस्ट पार्टी नेकपाको केन्द्रीय कार्यसमिति बैठक सकिएसँगै प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीपरिषद पुनर्गठनको तयारी शुरु गरेका छन् । समाजवादी पार्टी ८ पुसमा सरकारबाट बाहिरिएपछि कानुन न्याय तथा संसदीय व्यवस्था मन्त्रालय र शहरी विकास मन्त्रालय रिक्त छ । साथै मन्त्रिमण्डलमा सहभागी केही मन्त्रीहरुको काम गराइबाट ओली सन्तुष्ट हुन सकेका छैनन् । दुई मन्त्रालय खाली रहेको अवस्थामा ३ मन्त्रीलाई विदाई गरी नयाँ ५ मन्त्री थप्ने ओलेको तयारी रहेको छ ।

पछिल्लो समय आफूसँग असन्तुष्ट रहेका नेताद्वय माधवकुमार नेपाल र झलनाथ खनाल तथा उपाध्यक्ष बामदेव गौतमसँग पनि ओलीले मन्त्रीपरिषद पुनर्गठनका बारेमा राय लिएका छन् । उनीहरूलाई नजिक ल्याउन पनि पछिल्लो समय ओलीले सरकारका हरेक कदममा नेपाल, खनाल र गौतमसँग राय लिने गरेका छन् । सभामुख चयन प्रकरणमा अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई साथ दिएपछि झस्किएका ओली पूर्व एमाले खेमाका शीर्षस्थ नेताहरूलाई फकाउने अभ्यास गरिरहेका छन् ।



सरकारमा जानेबारे राजपामा विवाद
सरकारमा सहभागी हुनेबारे राजपामा स्पष्ट २ धार देखिएको छ । अध्यक्ष मण्डलका सदस्यहरू राजेन्द्र महतो, शरतसिंह भण्डारी, राजकिशोर यादव र अनिल झा सरकारमा सहभागी हुनुपर्ने अडानमा छन् । तर महन्थ ठाकुर र महेन्द्र यादव यही स्थितिमा सरकारमा जान नहुने बताउँदै आएका छन् ।

ठाकुर र यादवको लाइनलाई राजपाका ७ जना वरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष तथा महासचिवहरुले समर्थन गरेका छन् । यही स्थितिमा सरकारमा जाँदा मधेशका जनताको नजरमा गिरिने उनीहरूको भनाई छ ।

नेकपा भने राजपा सरकारमा आउने भए मात्र उपसभामुख दिने पक्षमा रहेको छ । समाजवादी पार्टी सरकारबाट बाहिरिएपछि २ तिहाई समर्थन गुमाएको सरकारले राजपालाई सरकारमा भित्र्रयाएर २ तिहाई समर्थन कायम गर्न चाहन्छ । समाजवादी सरकारबाट बाहिरिएको र कांग्रेस सरकारमा सहभागी हुने सम्भावना नरहेकोले सरकारलाई २ तिहाई समर्थन जुटाउन राजपाको विकल्प छैन ।

ओलीले राजपालाई दुई मन्त्रालय र उपसभामुख दिने प्रलोभन देखाएका छन् । राष्ट्रियसभामा निर्वाचनमा नेकपासँग प्रदेश २ मा तालमेल गराएर २ सिट हत्याएका राजपा अध्यक्ष मण्डल सदस्य राजेन्द्र महतोले राजपाका अन्य नेताहरुलाई फकाएर सरकारमा सहभागी बनाउने वातावरण बनाउने भन्दै दौडधुप गरिरहेका छन् । राजापालाई सरकारमा ल्याउन फेरि एकपटक संविधान संशोधनको उधारो सहमती गर्न ओली तयार भएको स्रोतको दाबी छ ।

यी मन्त्रीको हुँदैछ विधाई
कार्यक्षमता कमजोर भएका तीन मन्त्री हटाउन ओलीलाई प्रचण्डले पनि साथ दिने भएका छन् । यसपटकको मन्त्रिपरिषद् पुनर्गठनको क्रममा प्रचण्डको बुहारीसमेत रहेकी खानेपानी मन्त्री विना मगरलाई पनि विधाई गर्ने तयारी गरिएको छ ।
त्यसैगरी भूमिसुधार तथा सहकारी मन्त्री पद्मा अर्याल र वन मन्त्री शक्ति बस्नेतलाई पनि विदा गरेर नयाँ अनुहार भित्र्याउने तयारी ओलीको छ ।

यता राष्ट्रिय सभामा कुनै पनि सदस्यलाई नदोहोर्याउने बताएका कारण युवराज खतिवडाको पनि स्वत मन्त्री पद गुम्ने देखिएको छ । मन्त्रिपरिषद्को सिफारिसबाट राष्ट्रपतिले मनोनित नगरेमा अर्थमन्त्री समेत नयाँ नियुक्ति गर्नुपर्ने अवस्था आउने छ ।

को को बन्दैछन् मन्त्री ?
यसपटक निवर्तमान उपसभामुख डा. शिवमाया तुम्बाहाङ्फे मन्त्री बन्ने लिष्टको पहिलो नम्मरमा रहेकी छन् । उनलाई शहरी विकास मन्त्री बनाउने तयारी ओलीको छ । त्यसैगरी खतिवडालाई मन्त्रिपरिषद्को सिफारिसबाट राष्ट्रपतिले मनोनित नगरेमा अर्थमन्त्रीमा राष्ट्रियसभामा निर्वाचनमा विजयी प्रवक्ता नारायणकाजी श्रेष्ठलाई ल्याउने तयारी भइरहेको छ ।

त्यस्तै ओलीको चाहना जनार्दन शर्मालाई गृहमन्त्री बनाउने रहेको पनि स्रोतहरु बताउँछन् । यता प्रचण्डले भने पम्फा भुसाललाई पनि मन्त्रिपरिषदमा सामेल गराउने तयारी गरेका छन् । अर्की नेतृ बृन्दा पाण्डेलाई पनि मन्त्री बनाउने कसरत भैरहेको स्रोतको दाबी छ ।

सम्बन्धित समाचार