‘अरू देशका राष्ट्रपति तीनटा हेलिकप्टर लिएर हिँड्छन् तर हाम्रोमा त्यस्तो छैन्’

प्रधानमन्त्री केपीशर्मा ओलीले राष्ट्रपतिको विरोध गरेर गणतन्त्रलाई कमजोर पार्ने खेल भइरहेको बताएका छन् । मङ्गबार काठमाडौंको सभागृहमा भएको अखिल नेपाल महिला संघ (अनेमसंघ) को एकता घोषणा तथा सपथ ग्रहण कार्यक्रममा प्रधानमन्त्री ओलीले राष्ट्रपति हेलिकप्टरसँगै सोफा पनि लिएर जानु हुन्छ र हेलिकप्टरबाट आर्लेपछि हत्तारहत्तार सोफा लिएर बस्नु हुन्छ भनेर सामाजिक सञ्जालमा लेखिएको समेत देखियो भन्दै सो कुरा बताएका हुन् ।

त्यसरी राष्ट्रपतिको विरोध गर्नुलाई प्रधानमन्त्री ओलीले गणतन्त्रलाई कमजोर पार्ने खेलको भएको बताउँदै उनले भने ‘सामाजिक सञ्जालमा यस्ता कुरा लेखेर तिनीहरूलाई त विश्वास पनि लागेको हुन सक्छ । यदि विश्वास लागेको छ भने पनि तिनीहरूलाई कठै बरी भन्नु पर्छ । विश्वास गरिएको होइन र भ्रम पार्न त्यस्तो गरिएको हो भने गणतन्त्र स्थापना भएको छ । गणतान्त्रिक संस्थाको सर्वोच्च ठाँउमा महिला पुग्नु भएको छ । उहाँसँग फोटो खिच्दा साथीहरूले राष्ट्रपतिलाई बसाउन एउटा सोफा ल्याए, राखें अनि पछाडि उभिएर फोटो खिचे । कुन नयाँ र ठूलो कुरो भयो ? अरू देशको राष्ट्रपति दुई तीनवटा हेलिकप्टर सँगसँगै लिएर उड्छन्, कुनमा छ राष्ट्रपति थाहा हुँदैन । हामी त त्यस्तो गर्दैनौं । थोत्रा हेलिकप्टर लिएर हिड्छौं । त्यही पनि खेदो खनिरहेका छन् ।’



गत माघ १४ गते राष्ट्रपति विद्यादेवी भण्डारीले हेटौंडा उपमहानगरपालिका ११ शहीद पार्कमा निर्माण भएकोे प्रजातान्त्रिक पार्कको उद्घाटन गर्न हेलिकोप्टर चढेर हेटौंडा पुगेकी थिइन् ।

उक्त कार्यक्रम सकेर फर्किने क्रममा राष्ट्रपति भण्डारीसँग बागमतीका प्रदेश प्रमुख विष्णुप्रसाद प्रसाईं र मुख्यमन्त्री डोरमणि पौडेललगायतले सामूहिक तस्वीर खिँचाएका थिए । जुन तस्वीरमा राष्ट्रपति भण्डारी सोफा र अरू वरिपरि उभिएका देखिन्थ्यो । उक्त तस्वीर सामाजिक सञ्जालमा भाइरलसमेत भएको थियो ।

सम्बन्धित समाचार