बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालका व्यावसायिक सटरमा डोजर चलेको छ । प्रदेश सरकारले अस्पतालको विकाससँगै प्रदेशको गौरवको आयोजनाको रूपमा अगाडि बढाउने जनाएसँगै सटर भत्काउन बिहानैदेखि डोजर चलाइएको हो ।
अस्पताल प्रशासनले पटक–पटक सूचना प्रकाशित गरेर सटर खाली गर्न व्यवसायीलाई आग्रह गरे पनि अटेर गरेपछि अस्पतालका सटरमा बिहीबार बिहान डोजर चलाइएको हो ।
अस्पतालका ७३ वटा सटर छन् । जिल्ला अदालत रुपन्देहीमा मुद्दा परेकामा अदालतले सटर भत्काउन बाटो खुलाएसँगै अस्पताल विकास समितिले बुधवार राति १२ बजेसम्म २४ घण्टे अल्टिमेटम दिएको थियो ।
अल्टिमेटम दिँइदा पनि व्यवसायीले सटर खाली गर्न आनाकानी गरेपछि डोजर चलाइएको ईलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायब उपरीक्षक भीमलाल भट्टराईले जानकारी दिए ।
अस्पतालको चरणबद्ध विकासका लागि अस्पतालका सटर खाली गर्ने योजनाअनुसार सटर भत्काईएको अस्पतालका प्रमुख मेडिकल सुपरिटेण्डेन्ट राजेन्द्र खनालले जानकारी दिए ।