गच्छदारलाई भ्रष्टाचार मुद्दा लागेपछि कांग्रेस नेताहरूले दिए यस्तो प्रतिक्रिया

बालुवाटारस्थित ललिता निवासको जग्गा प्रकरणमा नेपाली कांग्रेसका उपसभापति विजयकुमार गच्छदारलाई भ्रष्टाचार मुद्दा लागेपछि कांग्रेसका शीर्ष नेताहरू आकस्मिक छलफलमा जुटेका छन् । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले बुधबार ललिता निवासको जग्गा प्रकरणमा गच्छदारसहित १ सय ७५ जनालाई भ्रष्टाचार मुद्दा दायर गरेपछि विहीबार कांग्रेस नेताहरू देउवा निवास बुढानिलकण्ठमा छलफलमा जुटेका हुन् ।

तत्कालीन भौतिक योजनामन्त्री विजयकुमार गच्छदारलाई मुद्दा दायर गर्दै अख्तियारले ९ करोड ६९ लाख विगो माग गरेको छ । अख्तियारले तत्कालीन भौतिक योजनामन्त्री विजयकुमार गच्छदार, अख्तियारका पूर्वप्रमुख आयुक्त एवं तत्कालीन भौतिक पूर्वाधार सचिव दीपकुमार बन्स्यात, तत्कालीन भूमिसुधार मन्त्रीद्वय डम्बर श्रेष्ठ र चन्द्रदेव जोशी, तत्कालीन सचिव छवि पन्तलगायतका उच्च अधिकारी र कर्मचारीसहित १ सय ७५ जनाविरूद्ध मुद्दा दायर गरेको छ ।



गच्छदारलाई मुद्दा चलाएपछि कांग्रेसका केही नेताहरूको प्रतिक्रिया :

रामचन्द्र पौडेल : अख्तियारले बालुवाटारस्थित ललिता निवास जग्गा प्रकरणमा अदालतमा आज दायर गरेको मुद्दाको प्रकृति हेर्दा अनौठो संशय र प्रश्न उब्जाएको छ । लाल झण्डा ओढेपछि जुनसुकै खत पनि माफ हुन्छ भन्ने भनाइ कतै पुरा हुने त होइन ?

अर्जुननरसिंह केसी : ललिता निवास जग्गा प्रकरणमा अख्तियारले १७५ जना विरूद्ध दायर गरेको मुद्दामा गम्भीर त्रुटि, आशंका र पूर्वाग्रह देखिएको छ । राजनीति आग्रहबाट कसैलाई फसाउने र कसैलाई बचाउने बदनियत देखिँदा भ्रष्टाचार नियन्त्रण होइन प्रतिशोध मात्र देखिन्छ र यसबाट संवैधानिक संस्थाहरू को विश्वास गुम्ने छ ।

विश्वप्रकाश शर्मा : माधवकुमार नेपालको पालामा नीतिगत निर्णय । एक पूर्व मन्त्री कमरेडको सिरानीमुनि लालपुर्जा । मुद्दा कसलाई ? विजय गच्छदारलाई ! एनिमल फार्ममा लेखक जर्ज अर्बेल भन्छन् ‘सबै जनावर समान हुन्छन् । तर केही जनावर अरूभन्दा बढी समान हुन्छन् ।’

धनराज गुरूङ : ललिता निवास काण्डः मन्त्रीपरिषदमा प्रस्ताव लैजाने तत्कालीन मन्त्री भ्रष्टाचारी तर मन्त्रीले लगेको प्रस्ताव निर्णय गर्ने तत्कालीन प्रम सदाचारी ? क्याविनेट सिष्टममा प्रमले नचाहेमा मन्त्रीले प्रस्ताव लैजाँदैमा निर्णय हुन सक्दैन । यति साह्रै निर्वस्त्र किन अख्तियार ?

रामहरी खतिवडा : निर्णय गर्ने प्रम माधवकुमार नेपाललाई माफी, जग्गाको लालपुर्जा लिने मन्त्रीलाई सम्मान, मुद्दा विजय गच्छदारलाई । यो देश कानुनी राज्यको देश, सबैले सरकारको जय भनौं ।

सम्बन्धित समाचार