चीनबाट ल्याइएका नेपालीलाई विभिन्न ४ ठाउँमा राख्न प्रधानमन्त्रीको निर्देशन

शिवपुरी, इचङ्गुनारायण, सूर्यविनायक र खरिपाटीमा राखिने

प्रधानमन्त्री केपी शर्मा ओलीले चीनको वुहानबाट ल्याइने नेपालीलाई ४ ठाउँमा राख्न निर्देशन दिएका छन् ।

बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा उपप्रधान तथा रक्षा, गृह, परराष्ट्र, स्वास्थ्य तथा जनसंख्या र पर्यटनमन्त्री र मुख्यसचिवलगायतका अधिकारीसहितको विशेष बैठकमा प्रधानमन्त्रीले यस्तो निर्देशन दिएका हुन् ।



प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयका अनुसार चीनबाट ल्याइने नेपालीलाई भक्तपुरका शिवपुरी, इचङ्गुनारायण, सूर्यविनायक र खरिपाटीमा क्वारेन्टाइनस्थल व्यवस्थित गरी राख्न निर्देशन दिएका हुन् ।

बैठकमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्‍ कार्यालयका सचिव नारायणप्रसाद विडारीले त्यसबारे कार्ययोजना प्रस्तुत गरेका थिए भने परराष्ट्र सचिव शंकरदास बैरागीले पछिल्लो अवस्थाका बारेमा बैठकमा जानकारी गराएका थिए ।

कोरोना भाइरसबाट प्रभावित चीनको हुबेई प्रान्तबाट नेपाल फर्किन करिब १ सय ७० नेपालीले आवेदन दिएका थिए ।

बेइजिङस्थित नेपाली दूतावासले शनिबार सूचना निकालेर हुबेईका नेपालीलाई नेपाल फर्काउन जहाज चार्टर भैरहेकाले तत्कालै फाराम भर्न आग्रह गरेको थियो ।

सम्बन्धित समाचार