नवकान्तिपुर संवाददाता
काठमाडौं, २३ माघ ।
नेपाली कांग्रेसका नेता डा.चन्द्र भण्डारीले बालुवाटारको ललिता निवास जग्गा प्रकरणमा अख्तियार दुरूपयोेग अनुसन्धान आयोगबाट भेदभावपूर्ण व्यवहार भएको बताएका छन् । विहीबार रिपोटर्स क्लव नेपालमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै नेता भण्डारीले बालुवाटार जग्गा प्रकरणलाई दाजुसँग नसकेर भाउजूसँग झगडा गर्ने प्रवृत्तिको देखिएको बताएका हुन् ।
गच्छदारलाई भ्रष्टाचार मुद्दा लागेपछि कांग्रेस किन असन्तुष्ट ? भन्ने पत्रकारको प्रश्नको जवाफमा भण्डारीले भने ‘विजय गच्छदारलाई कारबाही हुँदा त्योसँग जोडिएका अरूलाई पनि कारबाही हुनु पर्यो नि, निर्णय गर्ने फस्ट मेनलाई छुन नसक्ने ? दाजुसँग नसक्ने अनि भाउजूसँग झगडा गरेर न्याय हुन्छ ? पहिला ठूला माछा समात्नु पर्यो ।’
देशमा बढ्दो भ्रष्टचारको कारणले नै प्राकृतिक स्रोत र साधनले सम्पन देश नेपालका जनताहरूले अरबमा बोरा बोक्नुपर्ने बाध्यता भएको र विश्वमै सुन्दर देश नेपाल गरिब बन्न पुगेको नेता भण्डारीको भनाई थियो ।
भ्रष्टचारीहरू कुनै पार्टीका नहुने र सबैलाई कारबाही गर्नु पर्ने भन्दै नेता भण्डारीले भ्रष्टचारीहरूलाई कारबाही नगरेसम्म देशको विकास पनि नहुने बताए । साथै, उनले अहिलेसम्म मन्त्री बनेका सबैको सम्पत्ति छानबिन गरिनु पर्ने र नेताहरूको पनि सम्पत्ति जनताले देख्न पाउनु पर्ने कुरामा जोड दिए ।