बालुवाटार जग्गा प्रकरणमा सत्तारूढ दलका नेताहरुलाई जोगाउन खोजिएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोग कार्यालय अगाडि विरोध प्रदर्शनका लागि पुगेका साझा पार्टीका नेता–कार्यकर्ता पक्राउ परेका छन् ।
आज बिहान अख्यितारको टंगालस्थित मुख्य कार्यालय अगाडि प्रदर्शन गर्ने क्रममा उनीहरु पक्राउ परेका हुन् । बालुवाटार जग्गा प्रकरणमा ‘एक देश, दुई कानुन’ को व्यवहार भएको भन्दै साझाले विरोध गरेको हो ।
पक्राउ पर्नेहरुमा केन्द्रीय सदस्यहरु समीक्षा बास्कोटा, प्रकाशचन्द्र परियार, नारायण कोइराला, शरदराज पाठक, अब्दुस मियाँलगायत रहेको साझा पार्टीका संयोजक रवीन्द्र मिश्रले जनाएका छन् ।
पार्टीका केन्द्रीय सदस्य प्रकाशचन्द्र परियारले आफूहरु अख्तियारमा ज्ञापनपत्र बुझाउन गएको जानकारी दिँदै ज्ञापनपत्र नबुझेपछि बाहिर खुला ठाउँमा प्रदर्शन गर्दा पक्राउ परेको जानकारी दिए ।
पक्राउ परेकाहरुलाई भृकुटीमण्डपस्थित नेपाल पुलिस क्लबमा राखिएको छ ।