चीनमा कोरोना भाइरसका कारण ८ सय ११ को मृत्यु भैसकेको छ । भाइरसका कारण शनिवार सम्ममा ३३ हजार ७ सय ३८ जनामा संक्रमण भेटिएको छ । चीनको स्वास्थ्य मन्त्रालयले सार्वजनिक गरेको तथ्यांकमा शनिवार मात्रै थप ८९ जनाको मृत्यु भएको जनाएको छ ।
त्यस्तै थप २ हजार ६ सय ५६ जना नया संक्रमणका बिरामी फेला परेको जनाएको छ। चीनमा डिसेम्बरको अन्त्यमा फैलिएको संक्रमणका कारण अहिलेसम्म २ जना विदेशी नागरिकको पनि ज्यान गएको छ । अमेरिका र जापानले आफ्ना नागरिकको चीनमा उक्त भाइरसका कारण ज्यान गएको पुष्टि गरेका छन् ।
त्यस्तै विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले कोरोना भाइरसका बारेमा अफवाह नफैलाउन चेतावनी दिएको छ। डब्लूएचओका महानिर्देशक डाक्टर टेड्रोस अडानोम गेबेरियससले ट्रोल र षडयन्त्रले कारण कोरोना भाइरसविरुद्ध लडिरहेकाहरुलाई कमजोर बनाउने भन्दै त्यसो नगर्न चेतावनी दिएको छ ।
सहि जानकारीबाट मात्र व्यक्ति आफू र अरुको सुरक्षा गर्ने भन्दै महानिर्देशक गेबेरियससले आफूहरु कोरोना भाइरस मात्र नभइ ट्रोल र षडयन्त्रका विरुद्धमा पनि लड्नुपरेको बताए। उपचारमा संलग्न डाक्टरहरुको तस्विरलाई लिएर ट्रोल बनाउने, कोरोनाको उत्पती र असरबारेमा भ्रमण फैलाउने, संक्रमण र मृत्युबारेमा अनर्गल प्रचार गर्ने लगायतका क्रियाकलाप बढेपछि डब्लुएचओको यस्तो प्रतिक्रिया आएको हो।