साहित्यक चौतारीको नेपालको छैटौं वार्षिकोत्सवमा दुई कृतिको विमोचन

नेपाली भाषा तथा साहित्यको विकास र विस्तार एवम् सामाजिक सेवामा क्रियाशील साहित्यक चौतारी नेपालको छैटौं वार्षिकोत्सव भव्य रूपमा सम्पन्न भएको छ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीको प्रमुख आतिथ्यतमा शनिबार काठमाडौंको सर्वनाम थिएटरमा एक कार्यक्रमका बीच साहित्यक चौतारी नेपालको छैटौं वार्षिकोत्सव सम्पन्न भएको हो ।

कार्यक्रममा बोल्दै परराष्ट्रमन्त्री ज्ञवालीले नेपाल बाहिर रहेका झण्डै अठार प्रतिशत नेपालीहरूलाई साहित्यले जोड्ने काम गरेको बताए । उनले भने ‘कुनै पनि राष्ट्रको पहिचान मुलतः सभ्यता र संस्कृतिसँग जोडिएको हुन्छ । सभ्यता र संस्कृतिलाई प्रकटीकरण गर्ने र त्यसलाई अभिव्यक्त गर्र्नेे सबैभन्दा सशक्त माध्यम साहित्य हो । कुनै पनि समाज र राष्ट्रलाई चिनाउने सर्वाधिक महत्वपूर्ण माध्यम भनेको नै त्यो देशको संस्कृति र साहित्य हो ।’



नेपाली भाषामा लेखिएको साहित्यलाई मात्रै नेपाली साहित्य हो भन्ने संकुचित परिभाषा गर्न नमिल्ने भन्दै मन्त्री ज्ञावाली मैथली, तामाङ, नेपाल भाषालगायतका अन्य भाषामा लेखिएका साहित्य पनि नेपाली साहित्य भएको बताए । साहित्यमा आक्रोस, असन्तुष्टि, रिस, घृणा र विद्रोहका आवाजहरू आए पनि अन्त्यमा साहित्यले भविष्यप्रतिको आशा र सपाना देखाउनु पर्र्नेे मन्त्री ज्ञावालीको भनाई थियो ।
उक्त कार्यक्रममा अरूणा श्रेष्ठ अनुको ‘निष्कर्ष’ मुक्तकसंग्रह र साहित्यक चौतारी नेपाल इजरायली शाखाबाट प्रकाशित इजरायलमा रहेका साहित्यक स्रष्ठाहरूको संयुक्त मुक्तकसंग्रह ‘मुक्तार्पण’ को विमोचन गरिएको थियो ।

साहित्यक चौतारीको आयोजनामा भएको अनलाइन गजल प्रतियोगिताका निर्णायकहरू करूण थापा, आनन्द श्रेष्ठ, र कृष्ण विश्वकर्मालाई सम्मान गरिएको थियो भने साहित्य क्षेत्रमा क्रियाशील व्यक्तित्वहरू रन्जित गुरूङ, प्रभा आचार्य भट्टराई र सन्तोष अम्गाईलाई पनि सम्मान गरिएको थियो । कार्यक्रममा सातै प्रदेशबाट आएका प्रतिनिधिहरूले आफ्ना रचनाहरू सुनाएका थिए ।

सम्बन्धित समाचार