नेपाल सरकारका सेवा निवृत्त एकजना सचिवकी श्रीमतीको ललितपुरमा हत्या भएको छ ।
सेवा निवृत्त सचिव अर्जुन कार्कीको श्रीमतीको हत्या भएको ललितपुर प्रहरीले जनाएको छ ।
महानगरीय प्रहरी परिसर ललितपुरकी प्रहरी उपरीक्षक दुर्गा सिंहले कार्कीकी श्रीमतीको सानेपास्थित आफ्नै निवासमा रगतले लतपतिएको अवस्थामा शव फेला परेको बताइन् ।
यस्तै, घरमा काम गर्ने एकजना कामदारको पनि झुन्डिएको अवस्थामा शव फेला परेको एसपी सिंहले जानकारी दिइन् ।
‘पूर्वसचिव कार्की ज्यूकी श्रीमतीको हत्या भएको भन्ने सूचना आएपछि प्रहरीको टोली त्यहाँ पुगेको छ । हत्या भएको हो वा मृत्युको कारण अर्कै हो भन्ने विषयमा अहिले अनुसन्धान चलिरहेको छ,’ एसपी सिंहले भनिन्, ‘घरमा काम गर्ने कामदार (विजय चौधरी) को पनि झुन्डिएको अवस्थामा शव फेला परेको छ ।’
घटनास्थलमा पुगेको प्रहरी टोलीलाई पूर्व सचिव कार्कीले आफू बिहान पूजाका लागि पशुपतिनाथ गएको र फर्केर आउँदा दुवै जनाको शव भेटेको बताएका छन् ।
घटनाको विषयमा महानगरीय प्रहरी परिसर ललितपुर र महानगरीय अपराध महाशाखाको टोलीले संयुक्त रुपमा अनुसन्धान थालेको छ ।