कोरोना भाइरस प्रभावित वुहानमा बन्दी जस्तै बनेर बसिरहेका नेपालीहरुको आउँदो फागुन ३ गते मात्र उद्धार हुने भएको छ ।
चीनमा रहेका नेपालीहरुको उद्धारका लागि फागुन ३ गते नेपाल एयर लाइन्सको वाइडबडी (एयरबस ३३०) विमान चीन जाने भएको छ । सो जहाज आगामी १५ तारिख अर्थात फागुन ३ गते चीन जाने पर्यटन मन्त्रालय स्रोतले जनाएको छ ।
परराष्ट्र, पर्यटन, स्वास्थ्य मन्त्रालय समेतका अधिकारीहरुसमेत रहने गरी समिति गठन गरिएको छ । समितिमा नेपाल एयरलाइन्सका प्रतिनिधिहरु पनि छन् ।
कोरोना भाइरसको ‘इपी सेन्टर’ चीनको वुहानबाट करिब १८० जना नेपालीहरुलाई बेइजिङस्थित नेपाली दूतावाससँगको समन्वयमा सरकारले उद्धार गर्नेछ । वुहानमा अधिकांश अध्ययनका लागि गएका नेपालीहरु छन् । उनीहरुले आफूहरुको छिटो उद्धार गरिदिन सरकारलाई आग्रह गर्दै आएका छन् ।
उनीहरुका अभिभावकहरुले आफ्ना छोराछोरीको छिटो उद्धार गरिदिन माग गर्दै गृह मन्त्रालय, पर्यटन मन्त्रालय, स्वास्थ्य मन्त्रालय, मानवअधिकार आयोगलगायतको ध्यानाकर्षण समेत गराएका थिए । चीनमा रहेका विद्यार्थीहरुले बाहिर निस्किन सक्ने अवस्था नभएको र कोठामा पानीको समेत अभाव भएकाले आफूहरुलाई तत्काल उद्धार गरिदिन सरकारसँग माग गर्दै आएका छन् ।