काङ्ग्रेस भातृसंघद्वारा काठमाडौंमा आज पनि प्रर्दशन

नेपाली काङ्ग्रेसको भातृ संघ नेपाल महिला संघले सोमबार काठमाडौंको माइतीघरमा विरोध प्रर्दशन गरेको छ । बालुवाटारस्थित ललिता निवास जग्गा प्रकरणमा आफ्ना पार्टीका उपसभापति विजय गच्छदारलाई फसाइएको भन्दै काङ्ग्रेसको भातृसंघहरूद्वारा विरोध प्रर्दशन गरेको हो ।

विरोध सभालाई सम्वोधन गर्दै नेपाल महिला संघकी अध्यक्षसमेत रहेकी काङ्ग्रेस सांसद उमा रेग्मीले एउटै निर्णयमा कसैलाई काखा र कसैलाई पाखा गर्न नहुने बताइन् । साथै, उनले ललिता निवास जग्गा प्रकरणमा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल, डा.बाबुराम भट्टराई र पूर्वमुख्यसचिव लीलामणि पौडेललाई पनि अख्तियारले छानबिनको दायरामा ल्याउनु पर्ने माग राखिन् ।



आफूहरू पार्टी उपसभापति विजय गच्छदारको बचाउका लागि माइतीघरमा विरोध गर्न नआएको प्रष्ट पार्दै नेपाल तरूण दलका अध्यक्ष जीतजंग बस्नेतले ललिता निवास जग्गा प्रकरणमा मुछिएका नेकपाका नेताहरूलाई पनि अख्तियारले मुद्दा चलाउनु पर्ने माग राखे ।
विरोधसभालाई सम्वोधन गर्ने धेरैजसो वक्ताहरूले सरकार र अख्तियारप्रति आक्रोस पोखेका थिए । ललिता निवास जग्गा प्रकरणमा अख्तियारले सत्तामा भएकालाई बचाएको र काङ्ग्रेसलाई फसाएको उनीहरूको आरोप थियो ।

नेपाल महिला संघकी अध्यक्ष तथा काङ्ग्रेस सांसद उमा रेग्मीको नेतृत्वमा भएको विरोध प्रर्दशनमा काङ्ग्रेसका भातृसंघहरू नेपाल विद्यार्थी संघ, नेपाल मुस्लिम संघ, नेपाल दलित संघ, राष्ट्रिय मगर संघ र पार्टीका नेताहरूको उल्लेखनीय सहभागीता रहेको थियो ।
अख्तियार दुरूपयोग अनुसन्धान आयोगले गत बुधबार काङ्ग्रेस पार्टीका उपसभापति विजय गच्छदारसहित १ सय ७५ जनाविरूद्ध विशेष अदालतमा मुद्दा दायर गरेपछि काङ्ग्रेसले सडक र सदनमा त्यसको विरोध गर्दै आइरहेको हो ।

सम्बन्धित समाचार