नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले समाज परिवर्तन र समृद्धिका लागि शिक्षा पहिलो प्राथमिकतामा रहेको बताएका छन् । किस्पाङ गाउँपालिका–३ काहुलेस्थित ऐसेलुभूमे माध्यामिक विद्यालयमा भारतीय अनुदान सहयोगमा निर्माण गरिएको नयाँ भवनको आज उद्घाटन गर्दै उनले विद्यालयमा सुविधा सम्पन्न नयाँ भवनको निर्माणले अब शिक्षामा गुणस्तर र दक्षजनशक्ति उत्पादनमा थप ऊर्जा थपिने विश्वास व्यक्त गरे ।
उनले नेपाल जस्तो पछि परेको राष्ट्र मात्र नभइ विकसित अमेरिका र युरोपका राष्ट्रले शिक्षा नै प्रथामिकतामा राख्ने गरेका अनुभवले पनि शिक्षित जनशक्ति उत्पादन नभइ समृद्धिको सपना पूरा हुन नसक्ने बताए। ‘आगामी तीन वर्षमा गुणात्मक प्रगति गरेर नेपाललाई नयाँ युगमा प्रवेश गराउनुपर्ने कार्यभार शिक्षाका माध्यमबाट मात्रै सकिने आशा लिएका छौ’, उनले भने ।
ऊर्जा, जलस्रोत तथा सिँचाईमन्त्री वर्षमान पुनले विद्यालय, सडक, जलविद्युत्लगायतका भौतिक पूर्वाधारले मात्र समृद्धि प्राप्त नहुने भएकाले शिक्षा र सीप लगायतका मानवीय दक्षताको पूर्वाधार विकासमा आफ्ना सन्ततिलाई केन्द्रित गराउन सुझाव दिए । सांसद नारायणप्रसाद खतिवडाले शिक्षाका माध्यमबाट कृषि, पर्यटन, जलविद्युत् लगायतको सीप प्रवद्धन गर्ने सिकाइको विकास गराउन सक्नुपर्ने बताए ।
नेकपा नुवाकोटका अध्यक्ष एवं वाग्मती प्रदेशसभा सदस्य हीरानाथ खतिवडाले विद्यालयको भवन निर्माण मात्र नभइ विद्यालय पुग्न सहज बाटो र सडकको अभावले विद्यार्थी सङ्ख्या बढाउन र विद्यालयमा नियमित गराउन प्रदेश सरकार नयाँ योजना तथा नीति बनाउने क्रममा रहेको जानकारी गराए ।