वुहानमा रहेका नेपालीलाई ल्याउन वाइडबडी जहाज चीन पठाउने तयारी

सरकारले कोरोना भाइरस फैलिएको चीनको हुबेई प्रान्तबाट स्वदेश फर्कन चाहने नेपालीलाई ल्याउनका लागि राष्ट्रिय ध्वजावाहक नेपाल वायु सेवा निगम (नेपाल एअरलाइन्स)को वाइडबडी ए–३३० जहाज चीन पठाउने तयारी गरेको छ ।

चीनमा कोरोनाको सम्भावित जोखिमबाट बच्नका लागि स्वदेश फर्कने नेपालीलाई जहाजमार्फत ल्याउने सम्बन्धमा आइतबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र निगमका पदाधिकारीबीच छलफल भएको थियो । निगमले अबको एक-दुई दिनभित्रै आफ्नो वाइडबडी जहाज चीन पठाउने तयारी गरेको जनाएको छ ।



चीनमा रहेका नेपालीको उद्धारका लागि जहाज पठाउने आन्तरिक तयारी गरिएको निगमका प्रवक्ता अर्चना खड्काले जानकारी दिए । ‘हामी (निगम) आन्तरिक तयारीमै छौँ, सरकारले निर्णय गर्नासाथ वाइडबडी जहाज चीन पठाउने गरी आवश्यक प्रक्रिया मिलाएका छौँ’, उनले भने ।

मन्त्रालय र निगमका पदाधिकारी एवं प्रतिनिधिबीच भएको छलफलमा मन्त्रालयले वाइडबडी जहाज लैजानका लागि निगमलाई आग्रह गरेको छ । निगमले पनि नियमित ‘बिजनेस’मा असर नपर्ने गरी वाइडबडी जहाज पठाउने वचन दिइसकेको छ ।

निगमको वाणिज्य विभागका अनुसार वाइडबडी जहाज पठाउँदा नियमित व्यवसायमा केही असर पर्नेछ । त्यसैले जहाज पठाउनुपूर्व यात्रु तथा एअरलाइन्सलाई पूर्वसूचना गर्नुपर्ने हुन्छ । वाइडबडी जहाज पठाउँदा झण्डै दुई दिनको उडान व्यवस्थापन गर्नुपर्ने भएकाले त्यसको व्यवस्थापकीय काम थालिएको विभागले जनाएको छ ।

कोरोना प्रभावित नेपालीलाई लिनका लागि निगमको जहाज लैजाने तयारीकोे जिज्ञासामा पर्यटन मन्त्रालयका सहसचिव सुरेश आचार्यले निगमको वाइडबडी जहाज लैजाने विषयमा छलफल भएको तर यस विषयलाई मन्त्रिपरिषद्को बैठकले निर्णय गरेपछि मात्रै अधिकारिक हुने बताए ।

सम्बन्धित समाचार