नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आइतबार काठमाडौंमा ‘स्किल डेभलपमेन्ट एन्ड मोटिभेसन प्रोग्राम’ सम्पन्न गरेको छ । उक्त कार्यक्रममा नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत विवेक झाले पानसमा बत्ती बालेर समुद्घाटन गरेका थिए । आफ्ना अभिकर्ताहरूको क्षमता अभिवृद्धि गर्ने तथा उत्प्रेरणा जगाउने उद्देश्यले सो कार्यक्रम आयोजना गरिएको कम्पनीले जनाएको छ । उक्त कार्यक्रममा १ हजार ५ सय भन्दा बढी सक्रिय अभिकर्ताहरूको उपस्थिति रहेको कम्पनीले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।
कार्यक्रममा सीईओ झाले नेपाल लाइफ इन्स्योरेन्सको ब्राण्ड एम्बेस्डर भनेकै देशका कुनाकुनामा पुगेर जीवन बीमाका बारेमा सचेतना फैलाउने अभिकर्ता भएको बताएका थिए । त्यसैले कम्पनीले सक्रिय अभिकर्ताहरू अझ बढाएर चालु आवमा दोब्बर गर्ने लक्ष्य राखिएको जानकारी गराउँदै सीईओ झाले बीमाबाटै देशको समृद्धि, नागरिकको भविष्यमा आइपर्ने जोखिम न्युनीकरण गर्न र अभिकर्ताको पनि भविष्य निर्माण गर्न सकिने मत पनि राखे ।
सीईओ झाले अगाडि भने– ‘बीमा विश्वासमा हुन्छ, अभिकर्ताको बोलीमा हुन्छ, त्यसैले सबै अभिकर्ताले बीमा के हो र किन आवश्यक छ भन्ने चेतना आम नागरिकमा जगाउनुपर्छ । साथै बीमितको विश्वासमा आँच आउने काम गर्नु हुँदैन । त्यसपछि मात्र आम नागरिकमा बीमा गर्नुपर्छ भन्ने चेतनाको विकास हुन्छ । हरेक व्यक्ति बीमामा आवद्ध हुन चाहन्छन् र आफैं अभिकर्ताको खोजी गर्दै आउँनेछन् ।’
कार्यक्रममा कम्पनीका उपप्रमुख कार्यकारी अधिकृत सन्तोष प्रसाईंले स्वागत मन्तव्य राख्दै कम्पनीलाई यो अवस्थासम्म ल्याइ पु-याउने श्रेय सम्पूर्ण अभिकर्ताहरूको रहेको बताउँदै अभिकर्ताहरूलाई धन्यवाद व्यक्त गरे । सम्पूर्ण अभिकर्ताहरूले आम नागरिकलाई बीमाका बारेमा बुझाएर मात्र बीमा गराउन उनले सुझाव दिए ।
पेशागत बीमा अभिकर्ता संघ केन्द्रीय समितिका अध्यक्ष नन्दप्रसाद तिवारीले अभिकर्ताहरू र कम्पनी दुवै पक्षको सहकार्यले नै कम्पनीले यो सफलता हात पारेको दाबी गरे ।
त्यस्तै, कार्यक्रममा पेशागत बीमा अभिकर्ता संघ बीमक समिति (नेपाल लाइफ) का अध्यक्ष राजेन्द्र अमात्यले नेपाल लाइफको उच्च व्यवस्थापनको सही निर्णयले नै कम्पनीले उच्च स्थान हासिल गर्न सकेको बताए ।
कार्यक्रममा सगरमाथाको आरोहण गर्ने पहिलो नेपाली फोटो पत्रकार पूर्णिमा श्रेष्ठलाई सम्मान गरिएको थियो । मिसन २०२० अन्तर्गत अन्नपूर्ण–१ चढ्ने तयारीमा रहेकी श्रेष्ठले आमादाब्लम, मनास्लु हिमालको सफल आरोहण गरिसकेकीे छन् ।
उक्त प्रशिक्षण कार्यक्रममा मोटिभेटर बालकृष्ण शर्माले प्रशिक्षण दिएका थिए । कम्पनीका वरिष्ठ सहायक महाप्रबन्धक उमापति पोखरेल, प्रशासन एवं मानव संसाधन प्रमुख सोनबहादुर मगर र कम्युनिकेसन तथा ब्राण्डिङ विभाग प्रमुख मेघेन्द्रप्रकाश गिरीले उत्कृष्ठ व्यवस्थापन गरेका थिए । कार्यक्रम नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडका क्षेत्रीय प्रमुख दिवाकर बरालको सभापतित्वमा सम्पन्न भएको विज्ञप्तिमा उल्लेख छ ।