उपप्रधानमन्त्री ईश्वर पोखरेलले राष्ट्रिय आकाङ्क्षा प्राप्त गर्नका लागि सरकार र निजी क्षेत्रको आपसी सहकार्य र समन्वय आवश्यक भएको औंल्याएका छन् । सडक विभाग र सिमेन्ट व्यवसायी सङ्घ नेपालले संयुक्त रुपमा आयोजना गरेको अन्तक्र्रिया कार्यक्रममा उनले लगानी र अनुभव दुबैमा सहकार्य हुनुपर्ने बताए ।
उनले भौतिक पूर्वाधार छिटो र गुणस्तरीय नहुँदासम्म राष्ट्रिय आकाङ्क्षा पूरा नहुने पनि बताए । सरकारले देश धनी बनाएर जनतालाई सुखी बनाउन कृषि, उद्योग, पर्यटन र पूर्वाधालाई ध्यान दिइरहेको उनको भनाइ छ । ‘सिमेन्टको उत्पादन बढेपनि अझै पनि गुणस्तरिय उत्पादन नभएको टिप्पणी आइरहेको छ,’ उपप्रधानमन्त्री पोखरेलले भने ।
कार्यक्रममा भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङले देशभित्र सिमेन्टको उत्पादन बढिरहेकाले त्यसको खपत बढाउन सडक निर्माणमा प्रयोगको सम्भावना रहेको बताए । कङ्क्रिट सडक निर्माण गर्दा हुने फाइदा र बेफाइदाका बारेमा विस्तृत रुपमा अध्ययन गरेर अघि बढ्नुपर्नेमा उनको जोड छ । पहिले सिमेन्ट चाहिँदा केही समय पहिले नै ‘बुकिङ’ गर्नुपर्ने अवस्थाबाट अहिले आत्मनिर्भरको अवस्थामा आउनु सकारात्मक कुरा भएको उनको भनाइ छ । उनले भने, ‘यसरी उत्पादन बढिरहने हो भने हामी निर्यात गर्ने अवस्थामा पुग्नेछौं ।’