पुलिसले अन्तिम खेलमा फ्रेन्ड्सलाई हरायो, जुमानुको ह्याट्रिक

सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा नेपाल पुलिस क्लबले फ्रेन्ड्स क्लबलाई ३–० ले हराएको छ। पुलिसको जितमा जुमानु राईले ह्याट्रिक गरे ।

सातदोबाटो स्थित एन्फा कम्प्लेक्सको मैदानमा भएको खेलमा पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो। दोस्रो हाफमा हेमन्त श्रेष्ठको स्थानमा मैदान प्रवेश गरेका जुमानुले ह्याट्रिक नै गरे ।



पुलिसका लागि खेलको ४९औँ मिनेटमा पहिलो गोल गरेका जुमानुले ५६औँ र ८५औँ मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरे ।

पुलिसले लिगका सबै खेल खेलिसक्दा २० अंक बनाएर पाँचौँ स्थानमा रहेको छ। ६ खेल जितेर दुई बराबरी गरेको पुलिसले ५ खेल हारेको थियो । यस्तै १४ अंक रहेको फ्रेन्ड्स क्लब १०औँ स्थानमा छ ।

लिग शनिबार सकिनेछ। जसमा शनिबार दशरथ रंगशालामा हुने मछिन्द्र र त्रिभुवन आर्मीबीचको खेलले विजेताको टुंगो लाग्नेछ ।

बिहीबार नै एपिएफ र बिग्रेड ब्वाइज क्लबबीच पनि खेल चलिरहेको छ । बिहीबार तेस्रो खेलमा सरस्वती युथ क्लब र संकटा क्लब खेल्दैछन्। सरस्वती क्लब पुछारमा रहँदै रेलिगेसनमा परिसकेको छ ।

सम्बन्धित समाचार