सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) नेतृत्वको वर्तमान सरकार पूर्ण रूपमा सफल भएको बताएका छन् । उनले वर्तमान सरकारले जनताको पक्षमा देखिने गरी काम गरेको भन्दै यस अवधिमा कुनै पनि नराम्रो काम नभएको स्पष्ट पारे ।
सञ्चार तथा सूचना मन्त्रालयमा आज आयोजित नियमित पत्रकार सम्मेलनमा मन्त्री बाँस्कोटाले भने,’सरकारले एउटा पनि नराम्रो काम गरेको छैन । जति काम भएका छन् ती सबै राम्रा छन् ।’
उनले वर्तमान सरकारले विगतमा मुर्छित् अवस्थामा रहेका सपना बिउँझाएको र यथार्थतामा परिणत गरेको बताए । मन्त्री बाँस्कोटाले प्रधानमन्त्री केपी शर्मा ओलीले मुर्छित् सपना ब्यूउझाउँदै यथार्थतामा परिणत गरेको र कार्यान्वयनमा लगेको समेत उल्लेख गरे । मन्त्री बाँस्कोटाले भने,’वर्तमान सरकार गठन भएपछि मुर्छित् सपना ब्यूँझिएका मात्रै छैनन् जीवन्त पनि बनेका छन ।’
सरकारको काम कारवाहीलाई लिएर प्रधानमन्त्री केपी शर्मा ओलीले नै सम्बोधन गर्ने र आम जनतालाई जानकारी दिने मन्त्री बाँस्कोटाको भनाइ छ । प्रतिनिधिसभाको शुक्रबार बस्ने बैठकमा प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने कार्यसूची छ । सरकारका प्रवक्ता बाँस्कोटाले विभिन्न सूचकाङ्कमा नेपालको अवस्था सुधार भएको तथ्याङ्क नै सुनाए ।