कोरोना भाइरसको उद्गमस्थल चीनको वुहानलगायतका स्थानमा रहेका नेपाली नागरिकको उद्धार उडानमा जान नेपाल एयरलाइन्सका पाइलट विजय लामाले अस्वीकार गरेका छन् । लामाले चीन उडानमा जान नमानेपछि उनको सट्टा पाकिस्तानी पाइलट नै जाने भएका छन् ।
यसअघि पाकिस्तानी आइपी पाइलट यावर कमलको नेतृत्व पाइलट लामा पनि रहने निर्णय नेपाल एयरलाइन्सले गरेको थियो । तर, लामाले अस्वीकार गरेपछि उनको ठाउँमा पनि पाकिस्तानी पाइलट मोहम्मद आरिफ चीन जाने निश्चित भएको नेपाल एयरलाइन्सका एक पाइलटले जानकारी दिए ।
पाकिस्तानी पाइलटको कमान्डमा नेपाल वायुसेवा निगमको जहाज शनिवार जाँदैछ । टोलीमा क्रु मेम्बर र चिकित्सकसहित १७ जनाको टोली हुनेछन् । नेपालीको उद्धार गर्न चीन जाने टोलीका सदस्य टुंगो लागे पनि नाम भने सार्वजनिक गरिएको छैन ।
प्राप्त जानकारीअनुसार जहाजको चालक दलका कोपाइलट भने नेपाली रहनेछन्।
चीनका विभिन्न सहरमा रहेका नेपाली नागरिकलाई वुहानमा भेला गराई नेपाल ल्याइने छ । नेपाल एयरलाइन्सको वाइडबडी विमानमार्फत् त्यहाँका १ सय ८० नेपालीको शनिबार उद्धार गर्न लागिएको हो ।
नेपाल एयरलाइन्सको जहाज शनिबार दिउँसो पौने ३ बजे वुहानका लागि उडान गर्ने र आइतबार बिहान २ बजे काठमाडौं आइपुग्ने तालिका तय भएको छ ।
टोलीमा ३ पाइलट र ७ जना क्रु मेम्बर रहनेछन् भने १ इन्जिनियर, १ प्राविधिक र १ डिस्पास्चर रहने छन् । सो टोलीमा ४ जना नेपाली सेनाका चिकित्सकसमेत रहने तय भएको छ ।
विमान चार्टर गरी नेपालीको उद्धार गर्न लागिएको हो । विमानको चार्टर भाडा प्रतिघन्टा १८ हजार डलर कायम गरिएको छ ।
चीन उडान गरिसकेपछि आइकाओको नियमअनुसार ४८ घन्टा जहाज अन्य गतव्यका लागि उडान गर्न पाउनेछैन ।