तुल्सीलाल स्मृति स्पोर्टस क्लबको १६ औं साधारण सभा सम्पन्न

तुल्सीलाल स्मृति स्पोर्टस क्लबको १६ औं साधारण सभा एवम् प्रदेश समितिको घोषणा कार्यक्रम शनिबार काठमाडौं च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानको केन्द्रीय कार्यलयमा सम्पन्न भएको छ । उक्त कार्यक्रमबाट १९ सदस्यीय केन्द्रीय समिति सर्वसम्मत रूपमा निर्वाचित भएका छन् ।

नव निर्वाचित समितिको अध्यक्षमा सुरेन्द्रमान डंगोल, उपाध्यक्षमा प्रतीक शाक्य, सचिवमा विनोद महर्जन तथा कोषाध्यक्षमा अशोक महर्जन रहेका छन् भने सदस्यहरूमा सन्तोष अधिकारी, रोमस खतिवडा, नरेश गिरी, मञ्जु भण्डारी आदि रहेका छन् । यसै गरी बागमती प्रदेश समितिलगायत कठमाडौं, ललितपुर र भक्तपुर जिल्ला समितिसमेत सर्वसम्मति रूपबाट निर्वाचित गरिएको छ ।



कार्यक्रमलाइ दुई सत्रमा विभाजन गरिएको थियो । खुल्ला सत्रको अध्यक्षता संगठनका अध्यक्ष सुरेन्द्रमान डंगोलले गरेका थिए । उक्त कार्यक्रममा प्रमुख अतिथिको रूपमा पूर्व युवा तथा खेलकुद मन्त्री गोपाल शाक्य उपस्थित थिए भने विशेष अतिथिको आसनमा नेकपा केन्द्रीय सदस्य नेतृ दिलु पन्त थिइन् । अतिथिका रूपमा नेपाल खेलकुद महासंघका काठमाडौं जिल्ला अध्यक्ष केशव श्रेष्ठ, वरिष्ठ वामपन्थी नेता अष्टमान महर्जनलगायत उपस्थित थिए ।

प्रमुख अतिथि पूर्व मन्त्री शाक्यले नेपाल कम्युनिष्ट पार्टीका संस्थापक सदस्य तुल्सीलाल कम्युनिष्ट आन्दोलनको मात्र होइन, प्रजातान्त्रिक आदोलनकै शिखर पुरुष भएको र तत्कालीन अवस्थामा पनि आफ्नो निजी सम्पत्ति, परिवार, जागिर त्यागेर देश र जनताको खातिर मुक्ति आन्दोलनमा होमिएका युग पुरुष भएको बताए । कार्यक्रममा मन्तव्य राख्दै नेकपा केन्द्रीय सदस्य नेतृ दिलु पन्तले युवाहरूले कारण देखाएर पन्छिनुभन्दा काम गरेर देखाउन निर्देशन दिइन् ।

गण्डकी प्रदेश इन्चार्जमा युवा नेता सन्तोष अधिकारी
नवनिर्वाचित केन्द्रीय सदस्य सन्तोष अधिकारीलाई गण्डकी प्रदेश समितिको इन्चार्जको जिम्मेवारी तोकिएको छ । निर्वाचित भैसकेपछि नवकान्तिपुरसँग संक्षिप्त कुराकानी गर्दै केन्द्रीय सदस्य अधिकारीले प्रदेश मातहातका जिल्लाहरूमा समिति गठन आफ्नो प्रमुख जिम्मेवारी रहेको बताए । आफू काममा विश्वास गर्ने भएकोले छिट्टै आफ्नो जिम्मेवारी पूरा गर्ने प्रतिबद्धता पनि व्यक्त गरे ।

गण्डकी प्रदेशका एघारै जिल्लामा संगठन निर्माण गर्न आफू लागिपर्ने उनको भनाइ रहेको छ । उनले आफूलाई योग्य ठानेर संगठनमा नेतृत्व दिलाउन सहयोग गर्ने सबैलाई धन्यवाद ज्ञापन गर्दै निर्वाचित अन्य सबै पदाधिकारी एवं सदस्यहरूलाई बधाइ एवं शुभकामना व्यक्त गरे । उक्त कार्यक्रमको सञ्चालन संगठनका सचिव विनोद महर्जनले गरेका थिए ।

सम्बन्धित समाचार