भारत बाहेकका तेस्रो मुलुकबाट पनि मुस्लिम सहभागी हुन खोजेपछि अन्तिम समयमा रोकिन खोजेको मुस्लिम धार्मिक सभा सप्तरीमा शुरु भएको छ ।
सभामा नेपाल र भारतका मुस्लिमहरुलाई मात्रै सहभागी गराइएपछि सप्तरीको बोदे बर्साइन नगरपालिकास्थित खड्ग नदी किनारमा मुस्लिम धर्माबलम्बीहरुको सभा सुरु भएको हो ।
धार्मिक सभामा नेपाल र भारतसहित पाकिस्तान, बंगलादेश, साउदी अरब, कुवेत, थाइल्याण्डसहितका देशबाट समेत सहभागीलाई बोलाइएको थियो । नेपाल र भारतबाहेक अन्य देशका मुस्लिम सहभागीहरुलाई फिर्ता पठाएपछि तीन दिनसम्म सभा सञ्चालनको अनुमति दिइएको थियो ।
मुस्लिम धर्माम्बलीको धार्मिकसभामा प्रवचनको कार्यक्रम छ । यसका लागि भारतको राजधानी दिल्लीबाट जमात विश्वका अध्यक्ष हजरत मौलाना साद साहेब आएको मुस्लिम आयोगका अध्यक्ष समिम मिँयाले जानकारी दिए।