शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुका निर्देशक डा। वासुदेव पाण्डेले ‘क्वारेन्टाइन’ मा राखिएका सबै सञ्चो भएकाले चिन्ता नलिन स्थानीयलाई आग्रह गरेका छन्।
सञ्चो मान्छेबाट रोग नसर्ने भएकाले स्थानीयवासीलाई ढुक्कले बस्न आग्रह गरे । उनले हालः ‘क्वारेन्टाइन’मा रहेकाहरू घर पठाउँदा पनि हुने खालका भएको बताएका छन् ।
तर, संयुक्त राष्ट्रसंघको सदस्य राष्ट्र नेपाल भएको हुँदा कुनै पनि देशमा रोग फैलिए त्यहाँबाट ल्याइएका मानिसहरूलाई दुई सातासम्म ‘क्वारेन्टाइन’मा राख्नुपर्ने बाध्यकारी अन्तर्राष्ट्रिय कानुन भएकाले मात्रै राखिएको बताए ।
‘चीन सरकारले सञ्चै छन्, कोरोना भाइरसले संक्रमित छैनन् भनेर नेपाल पठाएका हुन्,’ निर्देशक पाण्डेले भने, ‘उनीहरूको त्रिभुवन विमानस्थलमा चेकजाँच पनि भयो, त्यहाँ ६ घण्टामा कसैलाई ज्वरो आयो कि आएन भन्ने हेरियो, कसैमा आएको पाइएन ।’
चेकजाँचको क्रममा कसैलाई कोरोना भाइरसको संक्रमण भएको पाइए शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा उपचारका लागि लगिने सरकारको तयारी छ । तर, आइतबार बिहान चीनको उहानबाट ल्याइएका कसैमा कोरोनाको संक्रमण नदेखिएको स्वास्थ्यकर्मीहरूले बताएका छन् ।
भक्तपुरकी प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले पनि चीनको उहानबाट ल्याइएका नेपालीलाई ‘क्वारेन्टाइन’ राखिएको आसपासका नागरिक डराउन नपर्ने बताएकी छन् । ‘क्वारेन्टाइन’मा राखिएकाहरूको प्रत्येक दिन २ पटक स्वास्थ्य जाँच गरिनेछ । कसैमा ज्वरो र रूघाखोकी लागेमा शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, पाटन अस्पताल लगायतका स्वास्थ्य संस्थामा पठाइनेछ ।
‘चीन सरकारले शंकास्पद ६ जनालाई उतै राख्यो, स्वस्थ भए पनि चार जना उतै बसे,’ उनले भनिन्, ‘यहाँ आएका सबै स्वस्थ छन्, कोहीमा पनि कोरोना भाइरसको संक्रमण छैन, डराउन पर्दैन ।’
आइतबार बिहान चीनबाट ल्याइएका १७५ जना नेपाली विद्यार्थीलाई भक्तपुरको खरिपाटीस्थित नेपाल विद्युत प्राधिकरणको तालिम केन्द्रमा राखिएको छ । जसमध्ये १३५ जना पुरुष र ४० जना महिला छन् । महिला, पुरुष र चिकित्सकलाई बेग्लाबेग्लै ब्लकमा राखिएको छ । तीनवटै ब्लकको हरेक कोठामा औषधी छर्किएको छ ।
पाइलट, एयर होस्टेस र डाक्टरहरूलाई नगरकोटको लामाटोलस्थित खानेपानी कार्यालयको तालिम केन्द्रमा राखिएको छ । जहाँ १८ जनालाई राखिएको छ ।
‘क्वारेन्टाइन’ क्षेत्रमा नेपाली सेना र नेपाल प्रहरीका चिकित्सकहरू छन्, त्यहाँ सामान पुर्याउने र ल्याउने सबै नेपाली नै हुन्, रोग नलागेकाहरू छन्,’ प्रमुख जिल्ला अधिकारी पाण्डेले भनिन्, ‘चीनले स्वस्थ्य भएकालाई मात्रै पठाएको हो, हामीले पठाएकालाई नि रहेछ भने परिवारमा नसरोस्, समाजमा नसरोस् भनेर ‘क्वारेन्टाइन’मा राखेको हो ।’
उनले सुरक्षाका लागि मात्रै ‘क्वारेन्टाइन’मा राखिएको बताइन् । उनका अनुसार हेल्थ डेस्क पनि आइतबार स्थापना गरेकाले त्यहाँ चेकजाँचको व्यवस्था गरिएको छ ।
‘क्वारेन्टाइन’मा राखिएकाहरूको प्रत्येक दिन २ पटक स्वास्थ्य जाँच गरिनेछ । कसैमा ज्वरो र रूघाखोकी लागेमा शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, पाटन अस्पताल लगायतका स्वास्थ्य संस्थामा पठाइनेछ ।