कृषिप्रधान देशमा कृषि पढेर काम नपाएपछि….

कृषि प्राविधिक पढेका विद्यार्थीहरूले कृषिप्रधान देश नेपालमा कृषि विषय पढेर पनि काम नपाइएको भन्दै गुनासो गरेका छन् । काठमाडौं कृषि प्राविधिक संर्घष समिति मञ्चले आइतबार काठमाडौंमा आयोजना गरेको पत्रकार सम्मेलन उनीहरूले यस्तो गुनासो गरेका हुन् ।

कार्यक्रममा विद्यार्थी विक्रम शाहीले सातै प्रदेशले लिइरहेको करार सेवालाई पारदर्शी बनाउनु पर्ने र प्रदेश लोकसेवा आयोगले परीक्षा लिनुपर्ने भन्दै राजनीतिक पुर्वाग्रहका आधारमा आफ्नालाई मात्र छनोट गर्ने क्रमलाई रोक्नु पर्ने धारणा राखे ।



नेपालमा कृषि प्राविधिक शिक्षालयहरू संख्या दिनप्रतिदिन बढ्दै गइरहेको भएपनि कृषि क्षेत्रमा प्रगति हुन नसकेको अर्का विद्यार्थी रवि लामिछानेले बताए । उनले अहिले देशमा संख्यात्मक रूपमा कलेजहरू संख्या थपिए पनि गुणस्तरीय शिक्षा भने प्राप्त नभएको दाबी गरे । साथैे, प्राविधिक शिक्षामा निजि क्षेत्रले लिने गरेको मनपरि शुल्कलाई सरकारले नियन्त्रण गर्नुपर्ने उनको भनाई थियो ।

आफूहरूले ऋण काढेर उच्च शिक्षा हासिल गरे पनि जागिरको अवसर पाउने बेलामा राजनीतिक पूर्वाग्रहका आधारमा छनोट हुने गरेको भन्दै अर्का विद्यार्थी सुमन पराजुलीले दुखेसो पोखे ।

राज्यका विभिन्न निकायमा कृषि प्राविधिक पदपूर्ति ठूलो संख्यामा आवश्यक हुँदा पनि कहिले राजनीतिक अस्थिरता त कहिले कर्मचारी समायोजनको समस्या देखाई विगत लामो समयदेखि विभिन्न बहानामा लोकसेवा आयोगको तालिकाअनुरूप विज्ञापन आह्वान नभएको उनीहरूको गुनासो छ ।

हातमा प्रमाणपत्र लिई लोकसेवा तयारी गरिरहेका विद्यार्थीहरू विज्ञापन नखुल्दा उमेर हदबन्दीका कारण समस्या पर्ने भन्दै उनीहरूले यस्तो समस्या आउन नदिन सरकारले बेलैमा ध्यान दिनुपर्ने उनीहरूको सुझाव थियो ।

सम्बन्धित समाचार