अमेरिकी परियोजना मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी)बारे अध्ययन गर्न गठित कार्यदले संझौताबारे जथाभावी नबोल्न नेताहरुलाई चेतावनी दिएको छ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता भीम रावलले एमसीसीका विषयमा जथाभावी नबोल्न शीर्ष नेतालाई चेतावनी दिएका हुन् । नेकपाको केन्द्रीय कार्यसमिति बैठकले गठन गरेको कार्यदलका सदस्य रावलले अध्ययन भइरहेको विषयमा जथाभावी नबोल्न रावलले चेतावनी दिएका हुन् ।
नेकपाको दोस्रो पूर्ण केन्द्रीय समिति बैठकले गम्भीर विषयमा छलफल गर्ने अधिकार समितिलाई दिएको उल्लेख गर्दै नेकपा स्थायी कमिटी सदस्यसमेत रहेका रावलले केन्द्रीय समिटीको कार्यादेशविपरीत कुनै पनि व्यक्तिले अन्यथा कुरा गर्यो भने त्यो औचित्यहिन हुने बताए। केन्द्रीय समितिले दिएको अधिकार अनुसार आफूहरूले एमसीसी सम्झौता र योसँग जोडिएका विषयमा छलफल भइरहेको भन्दै एमसीसीका सम्बन्धमा निर्णय सुनाउने अधिकार केन्द्रीय कमिटीले कसैलाई नदिएको उनले बताए।
रावलले संसदमा प्रस्तुत भएका बाहेक अन्य दर्जनभन्दा बढी सम्झौता पनि कार्यदलले फेला पारेको खुलासा गरे। अहिलेसम्म संसदमा प्रस्तुत भएको बाहेक दर्जन बढी सम्झौता फेला परेको र अझै अरू पनि हुन सक्ने उनले बताए । संसदमा प्रस्तुत भएको बाहेक अन्य सम्झौताको विषयमा आचारसंहिताका कारण बोल्न नमिल्ने उनले बताए ।
कार्यदलको सयम १० दिनका लागि थप गरिएको छ। पूर्व प्रधानमन्त्री झलनाथ खनालको संयोजक रहेको कार्यदलमा भीम रावल र प्रदीप ज्ञवाली सदस्य रहेका छन् ।